इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

Published on

काठमाडौं । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारी साधन इजरायली सेनाले हटाएको छ ।

इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौँ व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । यद्यपि इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन । प्रत्यक्षदर्शीको भनाइमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौँ हवाई हमला गरेको थियो । हमास सरकारद्वारा सञ्चालित सञ्चार एकाइले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ । हमासको मुख्य अखडा रहेको विश्वासमा अल–शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा दुई सयभन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको थियो ।

इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरुमा आफ्ना लडाकू नरहेको बताउँदै आएको थियो । हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल–शिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरु बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ । एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरुलाई इजरायली ट्याङ्कले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

इजरायली सेनाले अल–शिफा अस्पताल कब्जामा लिनुअघि हजारौं सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए । इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो । यसैबिच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरुमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कैयौं स्थानमा हमास र इजरायली सैनिकबिच भिडन्त भइरहेका छन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ । रासस\एएफपी

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...