श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री दाहालले सुशासनका कैयौँ मानक स्थापित गर्न सरकार सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगायत सेवाका लागि घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ । राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवाप्रवाह थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यबाट प्रवाह हुने सेवामाथि सबैको पहुँच पुर्‍याउन आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभयो । गत शैक्षिक सत्रदेखि विद्यालयमा भर्नासँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्ने अवस्था सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाली लगाउने समयमा किसानलाई मल अभाव हुने विगतको अवस्था समेत अन्त्य गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मल खरिद एवम् आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको छ ।”

संविधानले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयन तथा सङ्घीयता संस्थागत गर्न आवश्यक पर्ने कानुन तर्जुमाको प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय स्थापना गर्न संविधानले निर्दिष्ट गरेका सिद्धान्त कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । “यस अवधिमा सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई थप सबल बनाउन प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने राजनीतिक सङ्कल्पअनुसार वित्तीय प्रबन्ध एवम् शासकीय अधिकारलाई तीनवटै तहमा न्यायपूर्णरूपमा हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको छ । वित्तीय सङ्घीयता कार्यान्वयनका लागि सरकारले पारदर्शी र वस्तुनिष्ठ आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वित्तीय हस्तान्तरण गर्ने व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री दाहालले तीनै तहको कार्यविस्तृतीकरण परिमार्जन गरी स्पष्ट बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउनुभयो । देशको समग्र विकासमा निर्णायक महत्त्व राख्ने जलविद्युत क्षेत्रको विकासमा उल्लेखनीय सुधार भएको बताउँदै प्रधानमन्त्री दाहालले यस अवधिमा विद्युत उत्पादन र प्रसारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत व्यापारका लागि बलियो आधार तयार गर्न सरकार सफल भएको स्पष्ट पार्नुभयो ।

सरकारले गरेका घनिभूत प्रयासका कारण देशको आर्थिक अवस्था लयमा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक बन्दै गएको बताउनुभयो । “देशभित्र लगानी वृद्धि गर्न, उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्न र समृद्धि, सुशासन र सामाजिक न्यायको लक्ष्य पूरा गर्न थप मेहनत गर्नुपर्नेछ, प्रधानमन्त्री दाहालले भन्नुभयो, त्यसका लागि सरकार सचेत र प्रतिबद्ध छ । आम नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री दाहालले सीमित स्रोतसाधनको अधिकतम उपयोग गरेर संविधानले परिलक्षित गरेका नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो । जनतामा राजनीतिक परिवर्तनको अनुभूति हुने गरी राज्यका कामकारबाही सञ्चालन भएमा मात्र संविधानको वास्तविक कार्यान्वयन हुनेमा सरकार दृढ छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, संविधानको मर्मलाई ध्यानमा राखेर सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल मार्गचित्रका रूपमा लिई अगाडि बढको छ । रासस

ताजा समाचार

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...

बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा

काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती...

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी...

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...