काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको टोली परिचालन हुने भएको छ । साहसिक पर्यटनको आकर्षक गन्तव्य मानिने सगरमाथा आरोहण गर्ने क्रममा बेपत्ता भएका नागरिकको शवको खोजी गरी नेपालीको भए गृह मन्त्रालयमार्फत आफन्तलाई र विदेशी नागरिक भए परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोगमा बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले झन्डै ५० दिनको अवधिमा कम्तीमा पाँच वटा शव खोजेर ल्याउने उद्देश्यका साथ सैनिक टोली खटाउन लागिएको जानकारी दिनुभयो । फेला परेको शव स्थानीय भएमा सम्बन्धित निकायलाई बुझाउने र पहिचान नभएका शव सेनाले काठमाडौँ ल्याई गृह मन्त्रालयमा बुझाउने जनाएको छ ।
बेवारिसे शव खोज्नका लागि सेनानी आदित्य कार्कीको नेतृत्वमा १३ जना तालिम प्राप्त सैनिक र २८ अनुभवी शेर्पासहित ४१ जनाको टोली आगामी बिहीबार सगरमाथाको आधार शिविर पुग्ने सेनाले जनाएको छ । भौगोलिक जटिलता र प्रायः प्रतिकूल मौसम रहने सगरमाथामा शव खोज्न खटाइने सैनिक टोलीलाई सेनाले मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय ९माउन्टेन वार फेयर स्कुल० मा तीन हप्ताको विशेष तालिम प्रदान गरिसकेको छ ।
सैनिक तथा शेर्पा टोलीलाई चरणबद्ध रूपमा पूर्वतैनाथी तथा बन्दोबस्ती सामग्रीसहित खटाइने सेनाले जनाएको छ । आवश्यकताका आधारमा अन्य विशेषज्ञ टोलीलाई तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राखिने पनि सेनाले जनाएको छ ।
फोहोर सङ्कलन गरिने
विश्व वातावरण दिवसको अवसर पारेर सेनाले यस वर्ष बेवारिसे शवसँगै सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० मेट्रिक टन फोहोर सङ्कलन गर्ने जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको नेतृत्वमा सेनाले सफा हिमाल अभियान–२०२४ सुरु गर्न लागेको हो । अभियानका संयोजक सहायकरथी सञ्जय देउजाका अनुसार यस अभियानमा सगरमाथा, ल्होत्से, नुप्त्से हिमालमा थुप्रिएका फोहोर सङ्कलन गर्ने तयारी रहेको छ । हिमालमा वर्षौंदेखि थुप्रिएका फोहोर जम्मा गरी पर्यावरण संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सेनाले सन् २०१९ देखि हिमाल सफाइ अभियान सुरु गरेको थियो । हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीयको दिगो विकास तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न ‘हाम्रो हिमाल हाम्रो दायित्व’ भन्ने नारासहित सेनाले सफाइ अभियान सुरु गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, अमादब्लम, कञ्चनजङ्घा, अन्नपूर्ण, बरुन्टसे गरी आठ वटा हिमालबाट हालसम्म १०८ मेट्रिक टन फोहोर र नौ वटा बेवारिसे शव सङ्कलन गरिएको छ ।
‘माउन्टेनरिङ एक्पिडिसन’ अवधारणा अनुरूप कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी नकुहिने फोहोरलाई पुनः प्रयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको सेनाले जनाएको छ । सगरमाथामा मात्र करिब डेढ लाख मेट्रिक टन फोहोर र तीन सयभन्दा बढी आरोहीका मृत शरीर रहेको अनुमान गरिएको छ ।