यो वर्ष पाठ्यपुस्तकको समस्या हट्यो

Published on

काठमाडौं । कर्णाली प्रदेशको कालीकोटमा यस वर्ष भने समयमै पाठ्यपुस्तक पुगेको छ । विगतका वर्ष वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्या थियो ।

नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक हातमा पर्दा विद्यार्थीसँगै शिक्षक हर्षित भएका छन् । जनजीवन माध्यमिक विद्यालय ताडीका प्रधानाध्यापक तेजबहादुर शाहीले शैक्षिक सत्र सुरु हुनुअघि नै पहिलो पटक पाठ्यपुस्तक पुगेको बताउनुभयो । गत वर्ष पुस्तकको निकै अभाव भयो । अन्तिमसम्म पनि विद्यार्थीले किताब पाएनन्, त्यसैले समयमै भर्ना भएर किताब लिन आग्रह गरिएको प्रअ शाहीले बताउनुभयो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले आफूले पनि यसरी भर्नाअगावै पाठ्यपुस्तक पुगेको पहिलो पटक देखेको सुनाउनुभयो ।

प्रमुख धितालले चालु आर्थिक वर्षको शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु भए पनि चैतमै पाठ्यपुस्तक कालीकोट पुगेकाले यस वर्ष समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक आएको सुनाउनुभयो । यस जिल्लाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक दिँदै आउनुभएका विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले यस पटक जनक शिक्षा सामग्री केन्द्र सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्रअगावै उपलब्ध गराएको बताउनुभयो । पुस्तक सञ्चालक शाहीले चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेको भए पनि वितरण नियमित जारी रहेको बताउनुभयो ।

कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालीकोटमा पाठ्यपुस्तक समयमै पुगेको जनक शिक्षाको प्रादेशिक कार्यालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ । कालीकोटमा यो वर्ष दुई हजार ५०० सेट पुस्तक पुगेको र कालीकोटलाई तीन हजार ७०० बराबर सेट किताब छुट्याइएको छ । जनक शिक्षाका सुर्खेत कार्यालय प्रमुख भैरवबाबु पन्तले केही जिल्लामा ६० प्रतिशत त केहीमा ५० प्रतिशत किताब पुगिसकेको जानकारी दिनुभयो । उता नेपालगन्ज कार्यालयले कर्णाली प्रदेशका हुम्ला, डोल्पा, सल्यान र रुकुमपश्चिमलाई हेर्दै आएको छ । डोल्पामा एक हजार ५०० सेट, सल्यानमा पाँच हजार ७०० सेट किताब पुगेको छ भने रुकुमपूर्व र रुकुमपश्चिममा गरी पाँच हजार ६०० सेट पुस्तक पुगेको जनाइएको छ ।

यस वर्ष सुर्खेत कार्यालयबाट जिल्ला तथा पालिकामा ५६ पुस्तक व्यवसायीले किताब पुर्‍याउने जिम्मा लिएका छन् । विगतका वर्षमा कर्णालीका विद्यार्थीले पूरा सेट किताब कहिल्यै नपाएको उहाँहरूको गुनासो छ । गएको वर्ष कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब नपाएर नै वार्षिक परीक्षामा सहभागी भएका थिए । यो वर्ष भने समयमा पुस्तक आएकाले समयमा विद्यालय र पालिकाले खरिद गरेमा किताब अभाव नहुने पक्का छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...