‘कतारका अमिरको भ्रमणबाट नेपालले अधिकतम् लाभ लिनुपर्छ’

Published on

काठमाडौं । पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।

उहाँहरुले सानो भूगोल र थोरै जनसङ्ख्या भए पनि दूरदर्शी नेतृत्व र उपलब्ध साधनस्रोतको अधिकतम सदुपयोग गर्नसके छोटो अवधिमै कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण नेपालले कतारबाट सिक्न सक्ने धारणा राख्नुभयो । नेपाल कम्युनिष्ट पार्टी ृमाओवादी केन्द्रेका नेता एवं पूर्वमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्धनको उत्खनन सुरु भइसकेपछि कतारले आफ्नो भौगोलिक आकारभन्दा धेरै माथि अन्तर्राष्ट्रिय शान्ति र सहयोगमा विशिष्ट भूमिका खेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षेत्रीय शान्ति कायम, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र ठूला राजनीतिक तनावलाई समाधानका लागि कतारले समन्वयकारी र निर्णायक भूमिका खेल्नेगरी अघि बढिरहेको छ ।

पूर्वमन्त्री कार्कीले नेपाल पनि द्वन्द्वपछि शान्ति प्रक्रियामा अघि बढिरहेको सन्दर्भमा मुलुकको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन कतारको अनुभवबाट महत्त्वपूर्ण शिक्षा लिन सकिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन मद्दत गर्न सक्ने विचार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा कतार रहेको छ । विप्रेषणको ठूलो हिस्सा कतारबाट आइरहेको छ । कतारको विकासमा नेपालीले पुर्याएको योगदानको सम्मान हुनेगरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झण्झन्टलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उपलब्ध गराउनुर्छ । पूर्वमन्त्री कार्कीले भौगोलिकरूपमा सानो भए पनि अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकिने उल्लेख गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय तनावलाई कम गर्न कतारले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको घटना सुनाउनुभयो । कतारको लगानीमा नेपालको हिमालय क्षेत्रको पिउने पानी प्रशोधन र प्राङ्गारिक कृषिजन्य उत्पादनमा लगानी गरी निर्यात गर्नसके नेपालले लाभ लिनसक्ने उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले अत्यन्त प्रतिकूल मौसमी वातावरण र सीमित जनशक्तिका बीचमा पनि मुलुकलाई समृद्धिमा लैजान सकिन्छ भन्ने बलियो उदाहरण कतारबाट सिक्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, कतार बहुआयामिक ढङ्गबाट अघि बढिरहेको छ, नेतृत्वदायी भूमिका खोजिरहेको र देखाइरहेको छ । मध्यपूर्वका मुलुकमा देखिएका विवाद समाधान गर्ने महत्त्वपूर्ण स्थान कतार बनेको छ । हमास र इजरायललगायत मध्यपूर्वी मुलुकमा देखिएका विवाद समाधानमा कतारले आफूलाई ‘विश्व च्याम्पियन’का रूपमा अघि बढाउन खोजिरहेको दृष्टान्त दिँदै डा भट्टराईले हवाई यातायातको माध्यमबाट विश्वमा आफ्नो सम्पर्क सञ्जाल विस्तार गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय ट्रान्जिट हवका रूपमा विकास भइरहेको बताउनुभयो । कतारका अमिरको भ्रमण कूटनीतिक हिसाबले नेपाल सकारात्मक बाटोतर्फ अघि बढिरहेको सङ्केत र उदाहरणका रूपमा रहेको उहाँको भनाइ छ । “कतार मध्यपूर्वमा आर्थिकरुपले सम्पन्न हुँदै गएको मुलुक हो । करिब चार लाख नेपाली श्रमिकले कतारमा काम गर्दै आइरहेका छन् । कतारको विकास र समृद्धिमा नेपाली श्रमिकको रगत र पसिना बगेको छ । यस्तो बेलामा कतारका अमिरको नेपाल भ्रमण हुनु अत्यन्त महत्त्वपूर्ण विषय र अवसरको कुरा हो, डा भट्टराईले भन्नुभयो ।

कतारको सम्पन्नताबाट नेपालले पनि आर्थिक विकास र सम्पन्नतासँग जोडेर अघि बढ्नका लागि फाइदा लिन सक्ने भन्दै उहाँले श्रम शक्ति विदेश पठाएर नभई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतातर्फ पनि ध्यान दिइनुपर्ने बताउनुभयो । डा भट्टराईले भन्नुभयो, “कतारलगायत मध्यपूर्वी मुलुकबाट नेपालमा लगानीको उच्च सम्भावना छ । कतारमा नेपालबाट निर्यात बढाउन सकिन्छ । नेपालले ठूलो मात्रामा इन्धन आयात गरिरहेको छ । यस विषयमा पनि हामीले केही सहुलियतपूर्ण सहयोग लिने अवस्था रहन्छ । यी विषयमा नेपालले आफ्नो छलफल अघि बढाउनुपर्छ । उहाँले कतारमा श्रम गर्ने नेपालीको सुरक्षा र रोजगारीमा देखिएका समस्या समाधान गर्नु अमिरको भ्रमणका अवसरमा सरकारको स्वभाविक ‘एजेण्डा’ भित्र पर्ने बताउनुभयो । नेता भट्टराईले भन्नुभयो, “कतारले केही वर्षयता आफ्नो प्राकृतिक साधनस्रोतलाई उपयोग गरेर जुन किसिमकको सम्पन्नता र समृद्धि हासिल गरेको छ । राजनीतिक स्थायित्वभित्र राम्रो दृष्टिकोण भएको नेतृत्वको माध्यमबाट आर्थिक समृद्धि र विकासमा अघि बढेको छ । आफ्नो प्रकृतिले दिएको साधनस्रोत प्रयोग गरेर अगाडि जान सकिन्छ भन्ने पाठ सिकाएको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले पछिल्लो समय कतार कूटनीतिक र आर्थिक रुपमा अन्त्यन्त सफल हुँदै गइरहेको धारणा राख्नुभयो । “इजरायल र हमासबीच विवाद समाधानमा अमेरिका र बेलायतलगायतका मुलुकले पनि कुनै न कुनै रुपमा कतारको मध्यस्थताको भूमिका खोजिरहेका छन्”, उहाँले भन्नुभयो । अमिरको भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको सेवासुविधाका बारेमा छलफल र परामर्श गर्नुपर्नेमा जोड दिँदै नेता खड्काले श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्न सुझाव दिनुभयो । चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्वसमुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको बताउनुभयो । उहाँले कतारसँगको सहकार्यमा नेपाली श्रमिकलाई प्रशिक्षित गर्ने प्रशिक्षण केन्द्र स्थापना गर्न सके दुई देशबीचको जनस्तरमा समेत सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाललाई महत्व दिएर कतारका अमिरबाट हुने भ्रमणका अवसरमा खुला हृदयले स्वागत गर्दै आथित्यता प्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...