बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्र

Published on

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ । आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ । कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेपनि कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।

यस विषयमा कामपाले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो । यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले बताउनुभयो । लामो समयसम्म बक्यौता रकम तिर्न आलटल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन गरेको छ । कामपा राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ । एउटा वडास्तरीय टोली छ, जसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को टोलीमा केन्द्रमा राजस्व विभागस्तरको टोली रहने छ । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तेस्रो टोलीको व्यवस्था गरिएको छ ।

घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ । आरबी कम्प्लेक्समा तीन सय १५ व्यवसायी र पिपुल्स प्लाजामा एक सय ६० व्यवसायी छन् । “यी व्यवसायीले व्यवसाय कर तिर्नुपर्छ । बहाल अङ्कमा लाग्ने बहाल कर स्थानीय सरकारलाई तिर्ने हो, बहाल आयमा लाग्ने कर सङ्घीय सरकारलाई तिर्ने हो”, काफ्लेले प्रष्ट पार्नुभयो । कामपाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिनेबिचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यस बमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक(एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनुपर्छ । कामपाका अनुसार लामो समयदेखि तीन अर्ब १९ करोड बक्यौता रकम असुल गर्नुपर्ने छ । अब नियमित अनुगमन गरी सबै बक्यौता रकम असुल गर्ने कामपाको तयारी छ । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...