सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या

Published on

काठमाडौं । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।

जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले जानकारी दिनुभयो । जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उहाँले बताउनुभयो । “महिला सेलतर्फ कम छन्”, जेलर मिश्रले भन्नुभयो, “तर, पुरुषतर्फ क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् । हामीले बरण्डालगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौँ ।” कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताउनुभयो ।

ठाउँ अभावका कारण कोचाकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ । जिल्ला कारागार मलङ्गवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उदघाटन गर्नुभएको थियो । जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण सुरु गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो । यसैबिच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताउनुभयो । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उहाँको भनाइ छ । कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुनेलगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरुले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताउनुभयो । रासस

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...