मकवानपुरको १८ सय हेक्टर वनमा डढेलो

Published on

काठमाडौं । मकवानपुरका विभिन्न भाग डढेलोको चपेटामा छ । डढेलोका कारण मकवानपुरसहित देशभरकै वायु प्रदूषण उच्च बनेको छ । यसरी फैलिएको डढेलो मानवीय कारणकै उपज भएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा दुईवटा डिभिजन वन कार्यालय रहेका छन् । दुबै डिभिजनको तथ्याङ्क अनुसार जिल्लामा लागेको डढेलोको प्रमुख कारण मानव भएको देखिएको हो । जङ्गलमा घाँस पलाउन नदिन, झाडी सफा हुने, घनाझाडी हुँदा वन्यजन्तु लुकेर बस्ने लगायतका कारणले जङ्गलमा डढेलो लगाउने गरेको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दिपक अधिकारीले बताउनुभयो । जग्गा नापी हुन थालेपछि वन अतिक्रमण गरेर जग्गा कमाउने र लालपुर्जा पाउने आशामा डढेलो लगाउने, कतिपय वन समितिमा व्यक्तिगत रिसिइवी, हेल्च्याक्रयाइ, चुरोट खाएर ठुटो बनमा फाल्ने लगायतका कारणले वनमा ढडेलो लागेको उहाको भनाइ छ । गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्ज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको छ । वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको छ । मानवीय कारणले नै डढेलो लाग्ने गरेको छ । आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानाजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ । डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिने लगायतका समस्या निम्तिने गरेको छ । वनमा लागेको डढेलोका कारण वातावरण प्रदूषण हुनुका साथैं मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने गरेको छ ।

मकवानपुरमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म एक हजार ८८१ हेक्टरभन्दा बढी क्षेत्रफलमा वन डढेलो लागेको छ । मकवानपुरमा रहेका दुई वटा डिभिजनअन्तर्गत डिभिजन वन कार्यालय मकवानपुरको ६ सय ८६ हेक्टर वन क्षेत्र र डिभिजन वन कार्यालय राप्ती मनहरीअन्तर्गत एक हजार १९५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति भएको छ । डिभिजन वन मकवानपुरअन्तर्गत हेटौँडा, भिमफेदी, मकवानपुरगढी, बकैया, बागमती र डिभिजन वन राप्ती मनहरीअन्तर्गत थाहा नगरपालिका, कैलाश, राक्सिराङ, हेटौँडाको बसामाडी, भीमफेदीको भैंसे र इन्द्रसरोवर गाउँपालिका रहेको छ ।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं। २ सुकौराबाट वनमा आगो लगाएको आरोपमा स्थानीयले एकजना पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । पवली भन्ज्याङ सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ परेका एक जनालाई १२ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको वन अधिकृत अधिकारीले बताउनुभयो । वनमा आगो लगाएमा वन ऐन २०७६ को दफा ४९ (घ) बमोजिम कसुर गरेकोमा दफा ५० को ९४० मा क्षति भएको बिगो असुलीगरी ३ वर्षसम्म कैद वा ६० हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था कानुनमा छ । डढेलो न्यूनीकरणका लागि पोखरी निर्माण, जनचेतना फैलाउने, आमा समूह, टोल विकास संस्था सामुदायिक वन समितिका पदाधिकारीसहितको वन डढेलो नियन्त्रण सञ्जाल गठन गरी आगलागी नियन्त्रणका प्रयासहरु भइरहेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ । गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...