हुम्डे विमानस्थल प्रयोगविहीन

Published on

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्र गरेको मनाङको हुम्डे विमानस्थल प्रयोगविहीन छ । कालोपत्रे भए पनि सञ्चालनमा आउन नसकेका विमानस्थल नौवटा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जसमध्ये मनाङको हुम्डे विमानस्थल पनि एक हो ।

हुम्डेलगायत बागलुङ विमानस्थल, रुकुमको चौरजहारी, खोटाङको लामीडाँडा, डोल्पाको मसिनेचौर, कालीकोटको सुनथराली छन् । सडक यातायातको पहुँच, छोटो धावनमार्ग, साना जहाजको कमी र महँगो हवाई भाडाका कारण विमानस्थल उपयोगमा आउन नसकेको हो । करोडौं रुपियाँ खर्चेर निर्माण गरिएको भवन बेकामे भएको छ भने विमानस्थल परिसरमा रहेका ट्रली, डोजरलगायतका साधन काम नलाग्ने बनेका छन् । विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रुपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौं रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङीहरु अझै पनि मुक्त हुन सकेका छैनन् । कालोपत्र गरेको केही दिनमै परीक्षण उडान भने भएको थियो तर नियमित उडान हुन सकेन । लामो समयदेखि बन्द भएको विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा गौचरणमा परिणत भएको छ ।

करोडौं रुपियाँ खर्चेर नौ वर्षअघि नै स्तरोन्नति र कालोपत्र गरी बाह्रै महिना जहाज अवतरण गर्न सकिने हुम्डे विमानस्थलमा पछिल्लो समय व्यावसायिक हिसाबले कुनै पनि जहाज अवतरण भएको छैन । सडक सञ्जालले जोडिएको भन्दै कतिपय वायु सेवा कम्पनीले उडान नभरेकाले आवतजावतमा स्थानीयले सास्ती भोग्नुपरेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले हुम्डे विमानस्थल नेपालकै सुन्दरमध्ये एकमा पर्ने बताउनुभयो  । उहाँले भन्नुभयो, ‘‘यति राम्रो र सुन्दर ठाउँ भए पनि जहाज नआएको एक दशक भयो । परीक्षण उडानपछि पूर्ण रूपमा बन्द रहेको हुम्डे विमानस्थलको ६ सय मिटर रहेको धावनमार्ग कालोपत्र गरिएसँगै बढाएर नौ सय मिटर बनाइएको छ । कालोपत्र हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । केही वर्ष मात्रै सञ्चालन भएको यस विमानस्थल २०७० सालबाट पूर्णरूपमा बन्द रहेको छ । तीन हजार तीन सय ३० मिटर उचाईमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजदेखि उडान सुरु गरिएको थियो । विमानस्थल कालोपत्र गरिए पनि अवतरण गर्नमा भौगोलिक विकटताले गर्दा समस्या रहेको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङले बताउनुभयो । उहाँले सिंगल इन्जिन भएको जहाजको सङ्ख्या अत्यन्त न्यून रहेको र पहिला पञ्चायतकालमै विमानस्थल बनाउँदैमा स्वर्गद्वारी हिमाललाई बेवास्ता गरी निर्माण गरिएकाले सञ्चालनमा कठिनाइ रहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपियाँ खर्च गरिएको छ । विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन नभए क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । मनाङ बढी पर्यटकको आवतजावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले २०७६ भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले विमानस्थल पुनः सञ्चालनमा ल्याउन गरेको प्रयासले सार्थकता पाउन सकेन । विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयका साथै पर्यटकले सास्ती भोग्नुपरेको छ । हुम्डे विमानस्थल उच्च स्थानमा रहेकाले अक्सिजनको कमीले हुन सक्ने लेक लाग्ने बिरामी तथा पर्यटकलाई भने समस्या हुने गरेको छ । अचानक बिरामी वा दुर्घटना भएमा यातायातको समस्या रहेको यस स्थानमा हवाई मार्ग मात्रै वैकल्पिक तथा उपचारको पहुँचमा पुग्ने आधार हो । तर लामो समयदेखि यहाँ निर्माण भएको विमानस्थल सञ्चालन हुन नसक्दा समस्या रहेको छ । हिमाली क्षेत्र भएकाले यहाँको हावापानीमा परिवर्तन आइरहने तथा निर्माण भएको विमानस्थल नचल्दा स्वास्थ्यको पहुँचमा पुग्न सकस हुने गरेको स्थानीय बताउँछन् । गम्भीर चोटपटक वा रोग लागेर अचानक अस्पतालसम्म पुग्नुपर्ने अवस्थामा भने हेलिकोप्टर मगाउनुपर्ने अवस्था रहेको होटल व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...