सरदरभन्दा बढी वर्षा हुने

Published on

काठमाडौं । नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने भएको छ ।

विभागले सोमबार सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपण अनुसार मनसुनको दोस्रो सत्र बढी वर्षामय हुने जानकारी दिएको छ । विभागको प्रक्षेपण ख्याल गर्दै आगामी तयारीमा जुट्न जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गर्नुभयो । विभागका महानिर्देशक डा। जगदीश्वर कर्माचार्यले यस वर्षको वर्षाले जनधनको क्षति गर्ने विपत् आउन सक्ने सम्भावनालाई ध्यानमा राखी सोही अनुसार पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । विभागका उपमहानिर्देशक डा। अर्चना श्रेष्ठले सन् १८८० को दशकमा भारत हुँदै नेपालमा मौसम पूर्वानुमान थालिएको इतिहास बताउँदै त्यसयताका मौसमी उतारचढावको चर्चा गर्नुभयो । त्यो उतारचढाव अनुसार पछिल्लो समय मनसुनको अवधि पछाडि सर्दै र लम्बिँदै गएको विभागले प्रस्ट पारेको छ । जस अनुसार हरेक वर्ष जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधि मनसुनको रहने गरेकोमा सो लम्बिँदै अगस्ट २ तारिखसम्म पुगेको छ ।

विभागका जलवायु विश्लेषक सुदर्शन हुमागाईंले यस वर्षको मनसुनको पहिलो र दोस्रो महिना अर्थात् जुन र जुलाईमा सरदरभन्दा कम वर्षा हुने जानकारी दिनुभयो । यी दुई महिना कम वर्षा हुँदा थप तातोपन र खडेरी बढ्न सक्ने उहाँले पूर्वानुमान गर्नुभयो । उहाँले भन्नुभयो, “तर अगस्ट र सेप्टेम्बरमा मनसुन अवधिको वर्षा बढी हुने सम्भावना रहेको छ ।” यो पूर्वानुमान अनुसार देशका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले प्रक्षेपण गरेको छ । प्रदेशगत रूपमा भने पश्चिमको गण्डकी, मध्यको बागमती तथा पूर्वी भेगको तराईमा अत्यधिक वर्षा हुने अनुमान छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम भूभाग, बागमतीको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

नेपालमा एक वर्षको अवधिमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको समयमा हुने गरेको छ । वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्छ । तापक्रम पनि उच्च पहिलो दुई महिना कम वर्षा हुनेसँगै मनसुन र त्यसपछि पनि तापक्रमको अवस्था उच्चतातिर जाने भएको छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार जुन र जुलाईमा वर्षा कम भए पनि पछिको समयमा हुने बढी वर्षाले मनसुनको अवधिमा हुने कुल वर्षालाई पूर्णता दिने प्रस्ट्याउनुभयो । उहाँका अनुसार यो वर्षको मनसुनको अवधि तातो रहने प्रक्षेपण गर्नुभयो । उहाँले भन्नुभयो, “मनसुनसँगै यो वर्षको पूरै अवधिको तापक्रम सरदरभन्दा बढी हुने छ, त्यो सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ ।

मनसुनको ऋतुगत प्रक्षेपणपछि भविष्यमा आइपर्न सक्ने सम्भावित विपत्बाट जनधनको क्षति कम गर्न आपसी सहकार्य र समन्वयसाथ काम गर्नुपर्नेमा सरोकारवाला निकायका उच्चाधिकारीले जोड दिनुभयो । कृषि मौसमविद् रामेश्वर रिमालले यो वर्षको कृषि उत्पादन खडेरी, अधिक वर्षा र तापलहरले प्रभावित हुने सम्भावना औँल्याउनुभयो । त्यसबाट किसानको बाली जोगाउन महिनागत र स्थानगत मनसुन प्रक्षेपणलाई निरन्तरता दिन सुझाव दिनुभयो । ऊर्जा मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मनसुनी वर्षाका कारण मानव जीवनसँगै भौतिक पूर्वाधारमा बढी क्षति पुर्‍याउने भएकाले सोको सुरक्षाका लागि चनाखो रहन आग्रह गर्नुभयो । जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले जलजन्य उद्योग पनि मनसुनी वर्षाले प्रभावित हुन सक्ने भएकाले त्यसतर्फ पनि पूर्वतयारी आवश्यकता रहेको औँल्याउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले पानी आवश्यक कुरा भए पनि एकैचोटि बढी आउँदा हुन सक्ने हानिप्रति सचेत रहेर समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले मनसुनजन्य विपत्बाट बर्सेनि भइरहेको जनधनको क्षति कम गर्न विभाग र प्राधिकरणले नजिक रहेर सहकार्य गर्न जरुरी रहेको औँल्याउनुभयो ।

ताजा समाचार

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

काठमाडौं । अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्...

काठमाडौँ-तराई-मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ(तराई(मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको...

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...