किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

Published on

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रूपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।

गाउँपालिकाका सातवटै वडाका कृषकलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उहाँको भनाइ छ । डा शाहले भन्नुभयो, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना कृषकलाई भुरा वितरण गरिएको छ ।” उहाँका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो । कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिका भुरा बाँडेका हौँ । यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ ।” गाउँपालिकाले सङ्घीय सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रति भुरा ५० पैसामा खरिद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताउनुभयो । “पालिकाले व्यावसायिक रूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोही बमोजिम कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ”, उहाँले भन्नुभयो । श्रेष्ठले यो कार्यक्रमले व्यवसाय गरिरहेकालाई प्रोत्साहन हुने भन्दै नयाँलाई आकर्षण थप्ने विश्वास लिइएको उल्लेख गर्नुभयो । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सूचना माग अनुसार विवरण सङ्कलन गरी पोखरीको क्षमता हेरेर भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । म्याग्दे–४ का हिमनारायण कायस्थले गाउँपालिकाले निःशुल्क रूपमा उपलब्ध गराएको माछाका भुराले व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी लामो समयदेखि माछापालनमा आबद्ध छौँ । व्यवसायलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएकाले हामीलाई सहज भएको छ । म्याग्दे–४ का भिमकुमारी रानालाई एक हजार आठ सय, कायस्थलाई पाँच हजार चार सय, टोपप्रसाद थापालाई एक हजार दुई सय, वडा नं १ का पूर्णिमा थापालाई दुई हजार चार सय, जगतबहादुर थापालाई दुई हजार चार सय, सन्तमान बोटेलाई एक हजार आठ सय, वडा नं ३ का बोलबहादुर आलेलाई तीन हजार, टुपबहादुर थापालाई तीन हजार, धनबहादुर थापालाई एक हजार दुई सय, वसुन्धरा बराई मगरलाई दुई हजार चार सय, वसन्ती सारूँ मगरलाई एक हजार दुई सय, भरतबहादुर उच्चै मगरलाई छ सय, नवीन बराइलाई एक हजार आठ सय, बालचन्द्र शाहीलाई छ सय, वडा नम्बर २ का लक्ष्मण थापालाई छ सय, विष्णुबहादुर नेपालीलाई एक हजार दुई सय, बेलबहादुर अधिकारीलाई एक हजार आठ सय माछाको भुरा वितरण गरिएको छ ।

वडा नं ५ का तालबहादुर आलेलाई तीन हजार छ सय, जगत थापालाई एक हजार आठ सय, मिनाकुमारी थापालाई पाँच हजार चार सय, बलिसिरा रानालाई छ सय, वडा नं ६ का श्रीबहादुर रानालाई छ हजार, शेरबहादुर गुरुङलाई तीन सय, वडा नं ७ का ध्रुवराज वाग्लेलाई छ सय, ओमराज गोतामेलाई छ सय, अच्युतराज काफ्लेलाई एक हजार दुई सय, रमादेवी पौडेललाई एक हजार आठ सय भुरा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । रासस

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...