आगलागी पीडितलाई राहत प्रदान गर्न राष्ट्रपतिको निर्देशन

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा भएको आगलागीबाट पीडित व्यवसायीलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ । राष्ट्रपतिले जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई सोमबार टेलिफोन गरी घटनाबारे जानकारी लिनुका साथै आगलागीबाट अप्ठेरोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको राष्ट्रपतिको निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, ‘घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र पुनः स्थापनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न राष्ट्रपतिले निर्देशन दिनुभएको छ ।’ तनहुँ सदरमुकाम दमौलीमा आइतबार रातिदेखि भएको आगलागीबाट करोडौँको क्षति भएको छ ।

जिल्ला समन्वय समिति तनहुँले निर्माण गरेको व्यास नगरपालिका –३ मेनरोड, फलफूल लाइनमा भएको आगलागीले २० जना व्यवसायीको २३ पसल पूर्णरुपले ध्वस्त भएको छ । नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी तत्काल परिचालन गरी सोमबार बिहान ७ सात बजे आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । व्यास नगरपालिका, तनहुँ जलविद्युत आयोजना, पृथ्वीराजमार्ग विस्तार आयोजना अन्तर्गत पूर्वी तथा पश्चिम खण्डका दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको प्रजिअ गौतमले जानकारी दिनुभयो । ठुलो जनशक्ति रातिदेखि नै प्रयोग गरिएको र धेरै दमकल भएकाले आगो नियन्त्रण लिन सफलता मिलेको गौतमले बताउनुभयो । धेरै पसलमा आगो लागेकाले करोडौँको क्षति भएको उहाँले जानकारी दिनुभयो । प्रजिअ गौतमले भन्नुभयो, ‘क्षतिको विवरण सङ्लन भइरहेको छ, पीडितलाई छिटो राहत दिन प्रक्रिया अघि बढाउँछौ ।’

आगलागीबाट किताब, पुस्तक तथा खेलकुदका सामग्री, फोटोकपी मेशिनलगायत गरेर ६० लाखभन्दा धेरैको क्षति पुगेको पीडित प्रताप बुक्स एण्ड स्टेशनरीका सञ्चालक प्रतापसिंह अधिकारीले बताउनुभयो । यतिबेला शैक्षिक सत्रको सुरुको समय भएकाले माग धेरै हुने हुँदा धेरै सामान राखिएकाले धेरै क्षति पुगेको अधिकारीले बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायीलाई छिटो छरितो तवरबाट राहत तथा पुनर्स्थापनाको काम अघि बढाइने बताउनुभयो । क्षतिको विवरण छिटो सङ्कलन गरेर बिमा कम्पनी तत्काल भुक्तानीका लागि पहलकदमी गरिने बताउनुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...