सातबुँदे सहमति सार्वजनिक

Published on

काठमाडौं । सत्ता साझेदारीका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति सार्वजनिक भएको छ । असार १७ गते भएको यो सहमति गोप्य राखिएको भन्दै सार्वजनिक गर्न माग भइरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मतको वक्तव्य दिने क्रममा यो सहमति सदनमा जानकारी गराउनुभएको हो । उक्त सहमतिमा आलोपालो सरकार निर्माण र सञ्चालन, संविधान कार्यान्वयनमा देखिएका जटिलता सम्बोधन गर्न सहमतिमा संशोधन प्रक्रिया अगाडि बढाउनेलगायतका विषय समेटिएका छन् । सहमति अनुसार जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषय समेटिएको छ ।

यस्तै संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने सहमतिमा उल्लेख छ । अर्थतन्त्रको शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने दुई दलको सहमतिमा उल्लेख छ । सहमतिमा सुरुको दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ । भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन गर्ने गरी सहमतिको सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सञ्चालन गर्ने पनि सहमतिमा उल्लेख छ । राष्ट्रिय सहमतिको सरकारका लागि प्रमुख दुई दलले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र अन्य दललाई समेत सरकारमा समावेश गर्ने पनि सहमतिमा उल्लेख छ । राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणका कामलाई तीव्रता दिने सातबुँदे सहमतिमा उल्लेख छ ।

दूषित परिणामको खतरा भयो

प्रधानमन्त्री ओलीले कांग्रेस, एमाले जस्ता दुई ठुला दलको साथ पाउँदा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सही दिशा समात्न नसकेको बताउनुभयो । विश्वासको मत माग्दै वक्तव्य दिने क्रममा सरकारले थिति बसाल्नुको सट्टा दूषित परिणामको खतरा देखाएको उहाँले टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले दूषित परिणामलाई टुलुटुलु हेरेर बस्न नसकेका कारण दुई दल नयाँ सरकार गठनको सहमतिमा पुगेको बताउनुभयो । विगतमा कांग्रेस एमालेबिचको सहकार्यले मुलुकलाई खास समयमा निकास दिने काम भएको स्मरण गर्दै उहाँले यस पटक पनि निश्चित उद्देश्यसहित सहकार्य भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन दिन स्टन्ट नभई इन्टेन्सन चाहिने बताउनुभयो । उहाँले सरकारका प्राथमिकताबारे पनि सभामा बताउनुभयो । सरकार र समग्र मन्त्रालयको क्षमता अभिवृद्धि, उचित मूल्याङ्कन, कानुनी सुधारलगायत रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान असंशोधनीय दस्ताबेज नभएकाले आवश्यकताका आधारमा संशोधन र परिमार्जन हुन सक्ने बताउनुभयो । संविधान संशोधनलाई पश्चगमन भन्ने कुराको भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नुभयो । अहिले विकासको तगारो अस्थिरता भएकाले अस्थिरता हटाउन संविधान संशोधन आवश्यक परेमा संशोधन हुनुपर्ने धारणा राख्नुभयो । अघिल्ला दुई पटक पनि सर्वसम्मतिमा संशोधन भएको स्मरण गराउँदै उहाँले स्थिरताको पक्षमा पनि सबै एकै ठाउँमा हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

सहमतिमै संविधान संशोधन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजनीतिक दलबिच सहमति खोजेर संविधान संशोधन गरिने बताउनुभएको छ । संविधानको मूल्याङ्कन र सबल तथा दुर्बल पक्ष हेरेर परिमार्जन गर्नु लोकतान्त्रिक अभ्यास भएको सभापति देउवाले बताउनुभयो । उहाँले संविधान संशोधनले गणतन्त्र, समावेशिता जस्ता विषयलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूको परामर्शमा सहमतिमै हुने उहाँको धारणा थियो ।

अर्थतन्त्र खराब छैन

नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले अर्थतन्त्रको अवस्था चित्रित गरे जस्तो खराब नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने क्रममा अर्थतन्त्र खराब अवस्थामा रहेको बताएपछि पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले सो धारणा राख्नुभएको हो । पुनले तथ्याङ्क हेर्दा अर्थतन्त्र निराशाजनक नरहेको दाबी गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...