मुहान सुकेपछि पानी लिन अर्काे जिल्ला

Published on

काठमाडौं । भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउने गरिएको छ । गत वर्ष कात्तिक १७ गते राति गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि यस्तो समस्या आएको हो । करिब पाँच किलोमिटर टाढा भेरी नगरपालिका–१, पिपेखोला गैरी खेतको मुहानको पानी खाएका ३२५ घरपरिवार धारामा पानी आउन छाडेपछि रुकुमपश्चिम सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट गाग्रीमा बोकेर खानेपानीको जोहो गर्दै आएका छन् ।

भेरी नगरपालिका–१, रिम्नाका गगन रानाका अनुसार भूकम्पले गाउँबस्तीमा पानीको मुहान सुकेपछि अहिले खानेपानीको दुःख हुन थालेको छ । गाउँबस्तीमा लामो समयदेखि पानीको हाहाकार भए पनि सरोकारवाला निकायले चासो नदिएका कारण रुकुमपश्चिमबाट पानी ल्याएर गुजारा चलाएको बताउनुभयो । भेरी नगरपालिका–१, रिम्नास्थित दिलमाया रानाले गाउँबस्तीका धारामा पानी आउन छाडेको करिब नौ महिना भएको बताउनुभयो । खानेपानीको व्यवस्थाका लागि कहीँकतैबाट पहल नभएको गुनासोसमेत उहाँले गर्नुभयो । भेरी नगरपालिका–१, भेरी त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने भावना रानाका अनुसार गाउँबस्तीका धारामा आउने पानीका मुहान सुकेपछि बालबालिकालाई समेत समस्या थपिएको छ । घरआँगनमा आउने पानीका धारामा पानी आउन छाडेपछि दुई घण्टा हिँडेर भेरी नदीपारि रुकुमको सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट झोलुङ्गे पुलनजिकबाट ल्याउनुपर्दा कहिलेकाहीँ बालबालिकाले समेत पानी बोक्न जानुपर्ने भएको बताउनुभयो । बर्खाको समयमा गाउँमा पानी नै नभएपछि विद्यालयको पढाइ छोड्नु पर्ने अवस्था आएको छ । बर्खाको समयमा पानीका मुहान फुटेर झन् ठुलो पानी आउनुपर्ने बेला पानीको हाहाकार भएको छ ।

भेरी त्रिवेणी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत जानुका रानाले भन्नुभयो, “नजिक पानी नहुँदा पढ्ने समयमा खानेपानी जोहो गर्न कुद्नु पर्छ । विद्यालयमा छुट्टी भएपछि घरमा गृहकार्य गर्ने समयमा पानी ल्याउनुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “पानी नल्याउने हो भने घरपरिवार सबैलाई गाह्रो हुन्छ । पानी ल्याउन जाने हो भने पढाइ छुट्छ, गृहकार्य गर्ने समय पानी ल्याउनै बित्न थालेको छ ।” भेरी नदीको धमिलो पानी खाँदा रोगले आव्रmमण गर्छ भन्ने डरले पुलपारि गएर पानी ल्याउनुपर्ने बाध्यता छ । समय मिलाएर पढाइसँगै पानी बोक्ने गरेको कुरा यहाँका विद्यार्थीले बताउने गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख मङ्गल शाहीका अनुसार भेरी नगरपालिका–१, रिम्नामा खानेपानी हाहाकार भएपछि गाउँबस्तीमा पानी ल्याउनका लागि हेल्भेटास नेपाल र युनिसेफसंँग सहकार्य गरेर काम सुरु गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...