निर्यातले जित्यो विद्युत् आयातलाई

Published on

काठमाडौं । नेपालले भारतबाट किनेकोभन्दा बेचेको विद्युत्को मात्रा र रकम बढी भएको छ । नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी भएको हो । नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार यसरी गत आर्थिक वर्ष २०८०\८१ मा नेपाल खुद निर्यात गर्ने मुलुक बनेको छ । २०८० साउनदेखि २०८१ असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको छ । त्यसबाट १६ अर्ब ९३ करोड २६ लाख रुपियाँ आम्दानी भएको छ । सोही अवधिमा १६ अर्ब ८१ करोड तीन लाख रुपियाँको विद्युत् आयात भएको छ । यस अनुसार नेपालले आयातभन्दा १२ करोड २३ लाख रुपियाँ बढीको बिजुली बेचेको छ । सुक्खा याममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । आँकडा अनुसार नेपाल विद्युत् प्राधिकरणले एक वर्षमै भारतमा छ अर्ब ३५ करोड रुपियाँको विद्युत् निर्यात बढाएको छ भने आयात दुई अर्ब ६३ करोड ३७ लाख रुपियाँ घटाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिले एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिव्र गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपियाँ ७२ पैसा छ भने हिउँद याममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपियाँ १७ पैसा रहेको प्राधिकरणले जनाएको छ । ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको हो । आव २०७९\८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपियाँको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपियाँको निर्यात गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताउनुभयो ।

“लोडसेडिङ निराकरणको अवस्था चिर्दै तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरेकामा गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्थामा मुलुक पुगेको छ,” उहाँले भन्नुभयो, “यो ऊर्जा क्षेत्रका लागि महìवपूर्ण कोसेढुङ्गा हो । विद्युत् पर्याप्तता बढ्दै जाँदा देशभित्र विद्युतीय सवारीसाधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा समेत गिरावट आएको तथा विद्युत् निर्यात पनि बढ्दा नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न योगदान पुगेको उहाँको भनाइ छ । “यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको छ,” उहाँले भन्नुभयो । नेपालले भारतको इनर्जी एक्स्चेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब सात सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो । कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौता अनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...