नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

Published on

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् । उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् । नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताउनुभयो । “तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रम नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उहाँले भन्नुभयो, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण र संरक्षणमा पनि सहयोग पुगेको छ । अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको रु दुई लाख ८६ हजार र ७६ घरपरिवारबाट रु एक हजार पाँच सयका दरले सङ्कलन गरेको रकमबाट रु चार लाख खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

सो सिसीटिभी क्यामेरामा एक महिनासम्मको आवाजसहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ । केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सिसीटिभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जाली गर्बुजाले बताउनुभयो । आमा समूह र टोल विकास संस्थाले गत तिहारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट उपल्लो बजारबाट तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएका छन् । यसअघि सडक किनारामा फूलका बिरुवा रोपिएको र सडकबत्ती जडान गरेर उज्यालो पारिएको संस्थाका उपाध्यक्ष मीना पुन बुढाथोकीले बताउनुभयो । उपल्लो तातोपानीमा बसोबास गर्ने सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले हालै रु पाँच लाख खर्चेर दुईवटा प्रतिक्षालय बनाएका छन् । सो प्रतिक्षालयबाट स्थानीयवासी, तातोपानीमा आउने पाहुना र बेनी–दरवाङ सडकमा यात्रा गर्ने यात्री लाभान्वित भएका छन् । कुण्डचोकमा सार्वजनिक शौचालय बनाउने योजना रहेको उपाध्यक्ष बुढाथोकीले बताउनुभयो । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जनाभन्दा बढी स्नानका लागि तातोपानी आएका थिए । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...