नौ वर्षमा पनि सम्पन्न भएन खानेपानी योजना

Published on

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा नौ वर्षअघि सुरु गरिएको खानेपानी योजनाको काम अझै पूरा भएको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र विश्रामपुरवासीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित २०७२ सालमा सो योजनाको काम सुरु गरेको थियो । साबिक नकटाझिज गाविस वडा नं। ७, ८ र ९ का गरी ६१८ घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको खानेपानी योजनाको काम अलपत्र अवस्थामा परेको स्थानीयको भनाइ छ । “यसबिच देश सङ्घीय संरचनामा गइसक्यो । नकटाझिज गाविस मिथिला नगरपालिकामा गाभियो । डिभिजन कार्यालय धनुषा, महोत्तरीमा गाभियो । कार्यालयमा कैयौँ हाकिम फेरियो तर योजना सञ्चालनमा आएन,” स्थानीय हिमाल पुलामीले भन्नुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख सुरेन्द्रप्रसाद शर्माले डिप बोरिङ गाड्ने र पाइपलाइन विस्तारको काम बाँकी रहेकाले योजना सञ्चालनमा ल्याउन ढिलाइ भएको बताउनुभयो । सो स्थानमा तीन वर्षअघि डिप बोरिङ गाडिएको भए पनि त्यसबाट पानी नआएको बताउँदै उहाँले अर्को डिप बोरिङ गाड्न ठेक्का लगाइसकेको जानकारी दिनुभयो ।

त्यस स्थानमा सम्भवतः केही महिनाभित्र नयाँ डिप बोरिङ गाडिने र पाइपलाइन विस्तारको काम गरिने कार्यालय प्रमुख शर्माले बताउनुभयो । योजना अन्तर्गत ओभरहेड ट्याङ्की निर्माण, विद्युत् जडान, कर्मचारी भवन निर्माण, कार्यालय परिसरको घेरबार भइसकेको उहाँको भनाइ छ । योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष पवन महतोले समयमा योजना सम्पन्न नहुँदा तनाव बढेको बताउँदै साउन अन्तिम सातातिर साधारण सभाको आयोजना गरेर पदबाट राजीनामा दिने बताउनुभयो । “योजनाको काम चाँडै सक्न हाकिमलाई भन्दाभन्दै र डिभिजन कार्यालयमा धाउँदा धाउँदा थाकिसकेँ । यता योजना अधुरो हुँदा अनाहकमा स्थानीयको भनाइ सुन्नुपर्दा तनाव बढेको छ,” उहाँ भन्नुहुन्छ । खानेपानी योजना निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । इनारको दूषित पानी प्रयोग गर्न बाध्य छन् भने भएको त्यो इनार पनि फागुन चैत महिनामा सुक्दा धेरैलाई खानेपानीको समस्या हुने गरेको स्थानीयको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...