दस वटा पक्की पुल निर्माण

Published on

काठमाडौं । सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा पर्ने खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म १० वटा पक्की पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष २०८०\८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ । सो कार्यालयका अनुसार गत आव २०८०\८१ मा मात्रै तीन वटा पक्की पुल निर्माण सम्पन्न भयो । कमलामाई नगरपालिका–५ र ६ लाई जोड्ने ग्वाङ्खोला कारागार पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल र दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल सम्पन्न भएका हुन् । कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर हेमन्त बजगाईंले बाँकी निर्माणाधीन हरिहरपुरगढी गाउँपालिका–२ र ४ लाई जोड्ने मरिणखोला पुल र सुनकोशी गाउँपालिका–७ को आरुबोटेखोला पुल चालु आव २०८१\८२ को असार मसान्तसम्म सकिने जानकारी दिनुभयो ।

आव २०८०\८१ मा सम्पन्न तीन वटा पक्की पुलमध्ये ८० मिटर लम्बाइको क्यानखोला पुल आठ करोड ५३ लाख पाँच हजार पाँच सय रुपियाँ लागतमा रसुवा इलाइट जेभी निर्माण कम्पनीले सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि २०७७ असार २९ गते निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ३० मिटर लम्बाइको ग्वाङखोला कारागार पुल पाँच करोड ४१ लाख ९५ हजार ७७५ रुपियाँको लागतमा केएस देवीरमण जेभीले निर्माण सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०७५ भदौ २५ गते सम्झौता गरी काम सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल तामाङ मरिण कन्स्ट्रक्सन निर्माण कम्पनीले तीन करोड ९६ लाख ८७ हजार रुपियाँको लागतमा सम्पन्न गरेको हो । उक्त पुल २०७९ असारमा सम्झौता गरी निर्माण सुरु गरिएको थियो । गत वर्ष असारसम्म सात वटा र यो वर्ष तीन वटा गरी हालसम्म १० वटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भई सञ्चालन भएका अन्य पुलमा कमलामाई नगरपालिकाको मधुटार–ग्वाङखोला पुल, कमलामाई नगरपालिकाकै गँड्यौलीखोला पुल, तीनपाटन गाउँपालिकाको लङ्गुरखोला पुल, फिक्कल गाउँपालिकाको वाक्सुखोला पुल र सुनकोशी गाउँपालिकाको धोबीखोला पुल हुन् । कमलामाई नगरपालिका–९ र १० जोड्ने कमला नदी पुल र कमलामाई नगरपालिकाकै लुङ्गेलीटार बौलाखोला पुल रहेका कार्यालयले जनाएको छ ।

गत आव २०८०\८१ मा नै जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरूमा छ वटा नयाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरी ठेक्का लागिसकेको छ । ठेक्का लागेका नयाँ पक्की पुलमा गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोरखोला पुल, टाँडीखोला पुल, सुनकोशी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडक अन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४ मा नै ग्वाङ्खोला पुल छन् । बारा–घोक्सिला पुलको निर्माण अवधि डेढ वर्ष रहेको र बाँकी अरू पुलको निर्माण अवधि एक वर्ष रहेको कार्यालयले जनाएको छ । गोरखापत्र

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...