राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

Published on

काठमाडौं । राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नम्बर ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने दुई हजार तीनसय ३५ मिटर दूरीको सुरुङ पुरा भएसँगै आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र रघुगंगा हाईड्रोपारका प्रबन्ध संचालक गणेश केसीले मंगलबार स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको मुख्य सुरुङ खन्ने काम पूरा भएसँगै आयोजनाको अन्य निर्माणको कामले पनि गति लिने अपेक्षा गरिएको सञ्चालक केसीले बताउनुभयो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति र जडान लगायतका कार्यहरु भइरहेका छन् । रघुगंगा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको आयोजनाले जनाएको छ । मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृह लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।

विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २५ प्रतिशत छ । बाँधस्थल निर्माण तर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । रघुगंगा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माणको काम भइरहेको छ । आगामी अक्टोबरमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...