बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

Published on

काठमाडौं । बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् । आज उक्त क्षेत्रको अवलोकन तथा जनताको गुनासो सुन्न पुग्नुभएका सङ्घीय सांसद सूर्य ढकालसँग डुबान प्रभावित क्षेत्रका नागरिकले यस वर्ष तटबन्ध निर्माण नभए ठुलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गरेका थिए । तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्ती सोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताउनुभयो ।

“विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ”, यादवले भन्नुभयो, “ठुलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।” दुई वर्षदेखि निरन्तर तटबन्धको माग गर्दै आए पनि निर्माण कार्यमा कसैले चासो नदिएको नरैनापुर–६ का अगुवा सोहनलाल यादवले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय राप्ती नदीमा बाढी बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ । लगातार भारी वर्षा हुनासाथ राप्ती नदीको बाढी गाउँ पस्ने खतरा बढ्दै गएको छ । आफ्नो क्षेत्रमा रहेको डुबानका समस्याबारे स्थलगत अवलोकनमा पुग्नुभएका बाँके क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य ढकालले नदी प्रभावित राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुनेको बताउनुभयो । खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठुलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । “अहिले ठुलो वर्षा भएकाले नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा नै प्रवेश गर्ने अवस्था आइरहेको छ”, सङ्घीय सांसद ढकालले भन्नुभयो, “नदीले तीव्र रूपमा कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम भएकाले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु ।”

तटबन्धन निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...