राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कको बिदाइ भेट

Published on

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गर्नुभएको छ। नेपालका लागि अस्ट्रेलियनको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत वोल्कले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो । बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियनको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गर्नुभयो । नेपाल र अस्ट्रेलियनबिच कूटनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमा पनि राम्रो सम्बन्ध रहेको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले जनस्तरको सम्बन्धले दुई देशलाई सामाजिक, सांस्कृतिक तथा भावनात्मक रूपमा पनि नजिक बनाउने बताउनुभयो ।

विगतमा दुई देशबिच संसदीय भ्रमण पनि भइसकेको स्मरण गराउनुहुँदै अध्यक्ष दाहालले संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशको संसदीय अभ्यास, प्रक्रिया र अनुभव आदान प्रदानमा सहयोग हुने बताउनुभयो । नेपालको सङ्घीय संसद्ले नेपाल( अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो । राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा सङ्घीय गणतन्त्रात्मक शासन, समावेशी लोकतन्त्र स्थापना भएको चर्चा गर्नुहुँदै अध्यक्ष दाहालले नेपालको सामाजिक, सांस्कृतिक परिवर्तन र जागरणमा अन्तर्राष्ट्रिय समुदायको सकारात्मक र महत्त्वपूर्ण सहयोग रहेको बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी कामहरू चाँडै टुङ्गोमा पुग्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको चर्चा भन्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो । दुई देशबिच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अस्ट्रेलियन सरकारले गरेको आर्थिक सहायता नेपालका लागि महत्त्वपूर्ण रहेको चर्चा अध्यक्ष दाहालले आगामी दिनहरूमा अझ निकट रहेर आर्थिक तथा विकास सहायतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सो भेटमा राजदूत वोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो । राजदूतका रूपमा नरहे पनि नेपालमा रहँदाका अनुभव र न्यानो माया स्मरण गर्नुहुँदै आफू सधैँ नेपालको सद्भावना दूतका रूपमा रहिरहने वोल्कले बताउनुभयो । कोभिड, भूकम्प लगायतका विपद्का बेला एक आपसमा सहयोग गरेको स्मरण गर्नुहुँदै उहाँले मानवीय सहायताका साथै विकास सहायताका रूपमा पनि अस्ट्रेलिया सधैँ नेपालको साथमा रहने बताउनुभयो । लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको राजदूत वोल्कले बताउनुभयो । सङ्क्रमणकालीन न्यायको विषय निकै संवेदनशील रहेको भन्दै राजदूत वोल्कले दलहरूबिचको सहमतिले अब चाँडै शान्ति प्रक्रियाको सबै काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...