निर्माण सुरु भएको २५ वर्षपछि खानेपानी योजना सञ्चालनमा

Published on

काठमाडौं । निर्माण सुरु भएको २५ वर्षपछि धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरमा खानेपानी योजना सञ्चालनमा आएको छ । २०५६ सालमा सरकारको लगानीमा सुरु भएको सो खानेपानी योजना सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।

तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको थियो । यस अवधिमा योजनाको चार वटा उपभोक्ता समिति परिवर्तन भइसकेको छ । धनुषाधाम नगरपालिका–४, का वडाध्यक्ष मनोज यादवले ढिलै भए पनि खानेपानी योजना सञ्चालनमा आएपछि खुसी लागेको बताउनुभयो । योजना सञ्चालनमा ल्याउन आफूले पनि निकै दौडधुप गरेको बताउँदै उहाँले वर्तमान उपभोक्ता समितिका पदाधिकारीलाई धन्यावाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “यत्रो वर्ष किन सञ्चालनमा आएन त्यतातिर नजाऔँ । यसको दोष म कसैलाई दिन चाहन्न । जनताले शुद्ध पानी पाउने भए त्यसमै खुसी छु ।” यहाँको पानी चापाकल, इनार र कुवाभन्दा शुद्ध हुने हुँदा धाराको पानी अधिकतम उपभोगमा ल्याउन स्थानीयलाई वडाध्यक्ष यादवले आग्रह गर्नुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका वर्तमान अध्यक्ष विजय यादवले निकै प्रयासपछि खानेपानी योजना सञ्चालन सफल भएको बताउनुभयो । योजना सञ्चालनमा आएपछि यहाँका लक्ष्मीपुर, सर्सा, केशरकुट्टी र चिरैयालगायतका गाउँ गरी सात सय घुरधुरी यस योजनाबाट लाभान्वित हुने जानकारी दिनुभयो । अध्यक्ष यादवले भन्नुभयो, “पहिला पानीको समस्या भएको बस्तीमा पानी पुर्‍याउँछौँ । अहिलेसम्म करिब तीन किलो मिटरमा मुख्य पाइपलान बिस्तार गरिएको छ । आवश्यकता अनुसार थप पाइपलाइन विस्तार गर्ने योजना छ ।” वर्षौँदेखि दूषित पानी खान बाध्य यहाँका जनता अबदेखि स्वच्छ खानेपानी उपयोग गर्न पाउने उहाँले बताउनुभयो । अध्यक्ष यादवले अहिलेसम्म परीक्षणको रूपमा १० घरमा निजी धारा जडान गरिएको बताउँदै अबदेखि धमाधम घरमा धारा जडान गर्ने जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानी वितरणका लागि एक लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की र एउटा डिप बोरिङ निर्माण गरिदिएको छ । त्यसलगायत कार्यालय भवन, कर्मचारी बस्ने घर निर्माण गरेको छ । खानेपानी योजना सञ्चालन भएपछि स्थानीयबासी निकै खुसी देखिएका छन् । स्थानीयबासी एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका धनुषाका दीपक यादवले पूर्व उपभोक्ता समितिका पदाधिकारीको ढिलासुस्ती र समयमा पर्याप्तता बजेट उपलब्ध नहुँदा योजना सम्पन्न हुन यतिको लामो सयम लागेको बताउनुभयो । कुनै पनि योजना समयमा सक्न योजना निर्माण समिति सक्रिय भएर लाग्नुपर्ने सरकारले पनि पर्याप्तता बजेट विनियोजन गर्नुपर्ने जानकारी दिनुभयो । संयोजक यादवले भन्नुभयो, “योजना ढिलो गरी सञ्चालन हुनुमा समिति र सरकार दुवैलाई दोषी देख्छु । नेपाल सरकारले यही खानेपानीमा प्रत्येक वर्ष १० लाख २० लाख रुपियाँ पठाएको हुन्छ । त्यो पैसाले कुनै काम गर्न पुग्दैन । त्यसैले सरकारले एक वर्षमा कुनै काम सम्पन्न हुने गरी बजेट छुट्टाउनुपर्छ र समितिले पनि सरकारले पठाएको पैसालाई सदुपयोग गरेर समयमा काम गरिदिनुपर्छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...