प्राधिकरणले लेखा समितिलाई बुझायो डेटासहितको प्रमाण

Published on

काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले टिओडी मिटरको डेटासहितका विभिन्न प्रमाण संसद्को सार्वजनिक लेखा समितिलाई बुझाएको छ । गत शुक्रबारको लेखा समितिले प्रमाण खोजेपछि प्राधिकरणले विवरण उपलब्ध गराएको हो । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार समितिले खोजेबमोजिमका सबै विवरण उपलब्ध गराइएको छ । लेखा समिति सचिवालयलाई बुझाइएको विवरणमा भक्तबहादुर पुन र मनोज मिश्रा नेतृत्वको समितिले बनाएको प्रतिवेदन, ६१ उद्योगको सूची तथा एम पावर लेजर एक पोका विद्युत् आपूर्तिको विवरण देखाउने टिओडी मिटरका डेटा एक पोका र टिओडीकै लोड प्रोफाइलसहितको डेटा तीन पोका, विद्युत् आपूर्ति पुष्टि गर्ने लगसिट २२ पोका र यो विषयवस्तु सम्बन्धमा विभिन्न अदालतले गरेका ९० छुट्टाछुट्टै फैसलाको एक पोका प्रमाण रहेका छन् । विगतमा लेखा समितिले गरेका निर्णय तथा २०७७ साउन १९ र २०८१ वैशाख २७ गते मन्त्रीपरिष्दले गरेका सम्बन्धित निर्णय पनि पेस गरिएको छ । यस्तै गरी प्रिमियम महसुलका सम्बन्धमा विवादित ६१ उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मका बक्यौता महसुलसम्बन्धी बिलका प्रमाण पनि बुझाइएको हो । “हामीले यो प्रमाण उपलब्ध गराउँदै महसुल भुक्तानी हुने सहज वातावरण निर्माण गरिदिन समितिलाई अनुरोध गरेका छौँ,” उहाँले भन्नुभयो ।

उद्योगीले तिरे महसुल

विवादित भनिएको ६१ वटा उद्योगको सूचीमै रहेका चार उद्योगले बुधबार जरिबानासहितको बक्यौता महसुल भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रिमियम महसुल बक्यौता बुझाउने उद्योगमा यशोदा फुड्स प्रालि, जयदुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्डस्ट्रिज रहेका छन् । सिलवालका अनुसार सूर्य नेपाल प्रालिले पनि बक्यौता रकम किस्तामा भुक्तान गरिरहेको छ । हेटौँडा सिमेन्ट हिमाल आइरनले पनि अधिकांश रकम भुक्तानी गरिरहेको छ भने लक्ष्मी स्टिल, बुटवल सिमेन्ट र सर्वोत्तम सिमेन्टले प्रिमियमबापतको रकमको केही हिस्सा बुझाएर थप भुक्तानी रोकेको उहाँले बताउनुभयो ।

पुन र आचार्य फिर्ता

विद्युत् महसुल विवादमा सरकारलाई असहयोग गरेको भन्ने निष्कर्षसहित सञ्चालक समितिबाट हटाइएका सञ्चालक भक्तबहादुर पुन र कपिल आचार्यमाथिको कारबाही कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । सञ्चालकद्वयले सर्वोच्च अदालतमा पेस गरेको रिटको सुनुवाइ गर्दै बिहीबार सञ्चालकबाट नहटाउने अन्तरिम आदेश दिएको हो । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट आचार्य र पुनलाई सञ्चालकबाट हटाएर पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई सञ्चालक नियुक्त गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले गत असार २५ देखि २७ गतेको बिचमा विद्युत् बक्यौता महसुल भुक्तान नगरेको भन्दै छ वटा उद्योगको विद्युत् आपूर्ति विच्छेद गरेको थियो ।

यसपश्चात् सरकार परिवर्तन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग छलफल गरी उद्योगको विद्युत् आपूर्ति सुचारु गर्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै विद्युत् नियमन आयोगले पनि ती उपभोक्ताको विद्युत् तत्काल सुचारु गर्न र समस्या भए ३० दिनभित्र आयोगमा उपस्थित हुन भन्दै प्राधिकरणलाई निर्देशन दिएको थियो । यही विषयमा निर्णय लिन बसेको सञ्चालक समितिको बैठकमा सञ्चालकद्वयले आयोगले प्रक्रियागत त्रुटि गरेको भन्दै निर्णयमा फरक मत राखेका थिए । यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुवै जनालाई स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उहाँहरूलाई सञ्चालक समितिबाट हटाइएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...