ललितपुरको गोदावरी कुण्ड

Published on

काठमाडौं । ललितपुर गोदावरी नगरपालिका ३ को प्रख्यात पवित्र स्थल गोदावरी कुण्ड अर्थात् यसलाई तीर्थ स्थल पनि भनिन्छ। यो स्थल पाटनको लगनखेलदेखि करिब ११ कि मि पूर्व फुलचोकी पहाडको फेदीमा रहेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थल निकै रमणीय रहेको छ। यो कुण्डको दक्षिण पश्चिममा नौ धारा पर्दछ। उत्तरमा महादेव भगवानको कृपाबाट सबैलाई भष्म गराउन सक्ने वरदान पाएको भष्मासुर भष्म भएको भन्ने भष्मासुर पहाड रहेको छ। त्यहाँ रहेको विष्णु भगवानको प्रतीक बिशंखुनारायणको मन्दिरमा गोदावरी कुण्डमा स्नान गरेर त्यहाँको जल लगेर चढाउने प्रचलन समेत रहेको छ। यस गोदावरी कुण्डको आग्नेयकोणको कन्दराबाट प्राकृतिक जल यस कुण्डमा मिसिएर प्रवाहित भएको छ। बाहिर रहेको पांचवटा ढुङ्गाको धाराबाट यही कुण्डको पवित्र जल प्रवाहित हुन्छ र दोस्रो कुण्डमा खस्ने गर्दछ। यस पवित्र कुण्डमा आउने तिर्थालुहरु यही ५ वटा ढुंगेधारामा स्नान गर्ने गर्दछन्। यसको मूल कुण्ड १५ फिटको वर्गाकारमा रहेको छ भने यस कुण्डको गहिराई १० फिट रहेको छ।

यसै कुण्डको दक्षिण, पश्चिम तर्फको गुफामा सिध्देश्वर महादेव, जसलाई गोदावरी महादेव पनि भनिन्छ। साथै त्यहाँ भगवान् विष्णुको मूर्ति, विष्णु पादुका पनि रहेको छ। बाहिरको भित्तामा लाइनले गणेश भगवान्, भगवती, बसाहा, देवी, भैरव र शब्देश्वर महादेव, कामधेनु, सरस्वती र नजिकै दत्तात्रयको मूर्ति समेत रहेको छ। साथै नागराज वासुकी, श्रृषेश्वर महादेव, गणेश लगायत विभिन्न देव देवताहरूको मूर्ति समेत रहेको छ।

कुण्डको बाहिर उच्च भागमा अर्थात् उत्तर र दक्षिणतर्फ पशुपति र जलेश्वर महादेवका मन्दिर रहेका छन्। साथै दक्षिणतर्फ सप्तषिर्का मूर्तिहरू पनि रहेको छ। गुम्बज आकारको सरस्वतीको मूर्ति पनि पश्चिम तर्फ रहेको छ। यसको नजिकै जमिनमुनि शिवलिंग समेत रहेको छ। गोदावरी कुण्डको दक्षिणतर्फको जङ्गलमा गौरी कुण्ड समेत रहेको छ। यस कुण्डमा मार्चन एवं आचमन गर्ने गर्दछन् भक्तजनहरू। यहाँ हनुमान र गणेशका मूर्ति समेत रहेका छन्। सडकको तल पाँचवटा ढुङ्गाको शिवलिंगका देवल समेत रहेको छ। गोदावरी कुण्डको अगाडी धुनी घर छ। जसलाई गौतमी कुटी नामकरण गरिएको छ। यस कुटीमा अखण्ड धुनी हुन्छ। यस धुनीमा दाउराको प्रयोग नगरेर गोबरको गुइँठा प्रयोग गरिन्छ। यस धुनी रहेको ठाउँमा सिध्दबाबा बहादुर पुरीले तपस्या गरेको ठाउँ पनि भनिन्छ। जनविश्वास अनुसार गौतम श्रृषि नै बहादुर पुरीको रूपमा प्रकट भएको मानिन्छ। कुण्डबाट करिब एक कि मि दक्षिण पश्चिममा नौ वटा धाराहरू प्रवाहित भएको कारणले प्रसिद्ध रहेको नौ धारा पर्दछ। यहाँ प्रत्येक वर्ष वैशाख पूणिर्माको दिन भक्तजनहरू स्नान गर्नुको साथै मेला समेत लाग्ने गर्दछ। यसको नजिकै नौ धारा माईको मन्दिर समेत रहेको छ।

गोदावरी कुण्ड अर्थात् तीर्थको सन्दर्भमा स्कन्दपुराणमा उल्लेख भए अनुसार परापूर्व कालमा महर्षि गौतमलाई गोहत्याको दोष लागि सो गोहत्याको पाप मोचनका लागि श्रीकृष्ण भगवान्सँग प्रार्थना गर्दा श्रीकृष्णले गोलकवासीका लागि गङ्गालाई पठाई दिनुभयो। ती गङ्गामा पृथ्वीमा गोदावरीको नामले प्रसिद्ध भइन। यस गोदावरीमा प्रत्येक १२ वर्षमा विशाल ठुलो मेला लाग्ने गर्दछ।। उक्त समयमा साधु सन्त, श्रृषिमुनीहरु आई यहाँ स्नान गर्दछन्। त्यसैबाट तिम्रो सम्पूर्ण पाप नाश हुन्छ भन्ने आज्ञा भए अनुसार तिनै गोदावरीमा स्नान गरेर गौतम श्रृषिले आफनो श्राप दोष मोचन गर्नु भएको थियो। सोही कारणले यस कुण्डमा स्नान गर्नाले गोहत्या, ब्रहृमहत्या जस्ता सम्पूर्ण पापहरु नाश हुन्छ भन्ने जनविश्वास रहेको छ। स्कन्दपुराण अनुसार गोदावरी महातीर्थमा सिंह अस्त भएको अवसरमा यदि स्नान गर्दछ भने एकचोटी गाई दान गरे समानको फल प्राप्त हुन्छ समेत भनिएको छ। बराहपुराण अनुसार सहय पर्वतबाट भीमरथी, कृष्णादेवी, गोदावरी र तुंगभद्रा नदीको उत्पत्ति भएको वर्णन समेत गरिएको छ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...