काठमाडौं । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा सिटी स्क्यान, मेमोग्राफी जस्ता अत्यावश्यक उपकरण चार महिनादेखि बन्द हुँदा बिरामीलाई समस्या भएको छ । गत चैत १८ गते अस्पतालको रेडियोलोजी भवनमा आगलागी हुँदा सिटी स्क्यान र मेमोग्राफीको वायरिङ जलेर नष्ट हुनुका साथै अन्य विद्युतीय उपकरणमा ठुलो क्षति भएको थियो । आगलागीबाट भिडियो एक्स(रे र एक्स(रे मेसिनमा समेत क्षति पुगेको थियो । मर्मत सम्भार गरेर भिडियो एक्स(रे र एक्स(रे सञ्चालनमा आए पनि विद्युतीय उपकरण जडानमा समय लागेकाले सिटी स्क्यान र मेमोग्राफी भने अझै सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताउनुभयो ।
उहाँले ती उपकरण सञ्चालन नहुँदा बिरामीलाई समस्या परेको स्विकार्नुहुँदै सबै कुरा आफूले मात्र चाहेर पनि नहुने जिकिर गर्नुभयो । क्यान्सर रोग पहिचानका लागि अत्यावश्यक मानिने उपकरणहरू चार महिनादेखि सञ्चालन नहुँदा क्यान्सरको पहिचान र निदान गर्न त्यहाँ पुगेका बिरामीहरूले सास्ती खेप्न बाध्य भएको छन् । सिटी स्क्यानदेखि लिएर एक्स(रे लगायतका सेवा लिन बिरामीहरू नेपालगन्ज पुग्नुपर्ने अवस्था रहेको जनाउँदै नेपालगन्जमा दोब्बर बढी मूल्य तिरेर जाँच गराउनु पर्ने बाध्यता रहेको क्यान्सर अस्पतालमा बिरामी लिएर पुग्नु भएका जाजरकोटका गोरख शाहीले बताउनुभयो । उहाँले छिटोभन्दा छिटो सबै उपकरण सञ्चालनमा ल्याउन माग पनि गर्नुभयो । सोही प्रकारले बिरामी लिएर बर्दियाबाट आउनु भएका बर्दिया राजापुरका नवीन थारुले महत्त्वपूर्ण जाँचका लागि नेपालगन्ज गएर भतारिनुपर्ने अवस्था देखिएको बताउनुभयो ।
अछामबाट बुवाको उपचारका लागि आउनु भएका उषा शाहीले अस्पतालमा सिटी स्क्यान नहुने भएपछि अति नै महँगोमा नेपालगन्जमा गएर सिटी स्क्यान गराउनु परेको गुनासो सुनाउनुभयो । सिटी स्क्यान सञ्चालन हुन नसक्दा अस्पतालमा जडान भई सञ्चालनको तयारीमा रहेको लिन्याक मेसिन समेत सञ्चालनमा आउन सकेको छैन । करिब दुई वर्ष लगाएर जडान सम्पन्न भएको लिन्याक मेसिन सिटी स्क्यान नचल्दा सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । उता, विद्युतीय उपकरण खरिदका लागि विभिन्न लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न समय लागेको अस्पतालका कार्यकारी निर्देशक डा।साहले बताउनुभयो । उहाँले टिप्पणी उठाउने, निर्णय गर्ने, टेण्डर खोल्ने र सम्झौता प्रक्रिया पूरा गर्दा चार महिना लागेको बताउनुभयो । सबै प्रक्रिया पूरा गरेर अहिले अस्पताल प्रशासनले बिरामी जाँच्ने उपकरणहरू पुनः सञ्चालनका लागि ब्याट्री, युपिएसलगायतका आवश्यक विद्युतीय उपकरण खरिद गरेर आइसकेको र जडान कार्य भइरहेको बताउनुभयो ।
विद्युतीय उपकरण जडान भएलगत्तै सिटी स्क्यान र मेमोग्राफी सञ्चालनमा आउने डा। शाहले बताउनुभयो । २०७२ सालमा स्थानीयवासीबाट सङ्घीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरे पनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल सञ्चालन हुँदै आएको छ । अस्पतालमा रेडियोलोजिस्ट नहुँदा अस्पताल प्रशासनले नेपालगन्जको निजी अस्पतालबाट सहयोग मागेर रेडियोलोजी सेवा सुचारु गर्दै आएको थियो । बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनु पर्ने, अस्पतालको वार्डहरू सञ्चालन गर्न थप एक भवन तथा चिकित्सक र कर्मचारीको आवासका लागि अर्को भवन अति आवश्यक रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताललाई आवश्यक पर्ने जनशक्तिको दरबन्दी स्वीकृतका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले माग गर्दै आए पनि मन्त्रालयले बेवास्ता गर्दै आएको छ । गोरखापत्र