मान्छेको औषधी खुवाएर हात्ती टिबीमुक्त

Published on

काठमाडौं । हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो । उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो । “विगतमा क्षयरोगले हात्तीहरू भटाभट मर्न थालेपछि चिन्ता थियो, अहिले कुनै पनि हात्तीमा क्षयरोगका लक्षण देखिएको छैन,” उहाँले भन्नुभयो । चितवनमा अहिलेसम्म ६७ वटा हात्तीलाई टिबीको औषधी खुवाएर निको पारिएको पनि उहाँले जनाउनुभयो । २०६७ सालमा टिबी भएरै औषधी खुवाइएको बहादुर गज अहिले सौराहामा नियमित निकुञ्ज सुरक्षाका लागि गस्तीमा परिचालित छ ।

यस्तै मेनका कली अहिले पर्सा राष्ट्रिय निकुञ्जको गडुवालाइन पोस्टमा छ । उसलाई पनि २०६८ मा टिबीकै उपचार गरिएको हो । टिबीको उपचार गरिएकामध्ये अहिलेसम्म दुई हात्तीको मृत्यु भएको छ तर दुवैको पोस्टमार्टममा क्षयरोगको कुनै पनि लक्षण देखिएन । “पछिल्लो पटक निकुञ्जमा मरेको भोलाप्रसाद टिबीकै उपचार गरेको हात्ती हो । उपचारको लामो समयपछि मरेको यो हात्तीको पोस्टमार्टम गर्दा कुनै पनि क्षयरोगको लक्षण देखिएन,” हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरन चौधरीले भन्नुभयो । हात्तीलाई एक वर्षसम्म नियमित औषधी खुवाइएपछि मात्रै क्षयरोगबाट मुक्त हुने गरेका छन् । डा। श्रेष्ठका अनुसार क्षयरोग सङ्क्रमित हात्तीलाई एथेमब्युटोल, रिफ्यामपिसिन र आइसोनाइजिट औषधी खुवाइएको हो । यी औषधी मानिसका लागि पनि प्रयोग गरिन्छन् । “यो औषधी मानिसभन्दा हात्तीलाई चालिस गुणा बढी दिनु पर्छ,” उहाँले भन्नुभयो । नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा। अमिर सडौलाले भन्नुभयो, “हात्तीको तौल हेरेर मान्छेलाई भन्दा चालिस गुणाभन्दा बढी औषधी खुवाएपछि मात्रै हात्तीलाई टिबी निको गराउन सकिएको हो,” उहाँले भन्नुभयो । हात्तीको तौल चार हजार किलोग्रामसम्म हुने भएकाले एउटा हात्तीलाई १५० देखि २०० मात्रासम्म औषधी दिनुपरेको स्मरण उहाँले गर्नुभयो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष आइयुसिएनले खतराको सूचीमा राखेको वन्यजन्तु एसियाली हात्ती नेपालसहित छिमेकी केही देशमा मात्रै पाइन्छ । सन् २०२० सम्म चितवनमा कम्तीमा १५ वटा हात्ती क्षयरोगका कारण मरेका थिए । हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मनिपुरन चौधरीका अनुसार त्यसरी मर्न थालेपछि लक्षणका आधारमा हात्तीमा टिबी परीक्षण गरिएको थियो । “राजा महेन्द्र हुन् वा वीरेन्द्र चितवन सफारी हुँदा दुवैले जङ्गल सफारीका लागि रोज्ने हात्ती पशुपति कली थियो । त्यही नै टिबीका कारण पहिलो पटक २०६५ सालमा मरेको थियो,” उहाँले भन्नुभयो । टिबीका जीवाणुले फोक्सो हुँदै मस्तिष्क र करङमा समेत असर गर्ने चिकित्सक बताउँछन् । समयमा उपचार नपाए ज्यानसमेत लिन्छ । यो रोग लागेका मानिसमा जस्तै हात्तीमा पनि लामो समय खोकी लागि रहने, राति हल्का ज्वरो आउने, अत्यधिक थकाइ लाग्ने, राति पसिना आउने, जाडो धेरै हुने, धेरै भोक लाग्ने आदि लक्षण देखिन्छ । टिबीको माइक्रो ब्याक्टिरियम ट्युबरक्लोसिस जीवाणु खोक्दा वा हाच्छुँ गर्दा हावाबाट दोस्रोमा सर्छ । नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा। अमिर सडौला हात्तीका लागि क्षयरोगको परीक्षण गारो विषय भएको बताउनुहुन्छ । हात्तीको छाला बाक्लो हुने भएकाले फोक्सोको एक्सरे गर्न नसकिए पनि र्‍यालको परीक्षणबाट टिबी पहिचान गरिने उहाँले जनाउनुभयो ।

“सामान्य परीक्षण त चितवनमै गरिन्छ तर कल्चर नै गर्नुपर्दा हामी काठमाडौँमा मानिसकै टिबी परीक्षण गर्ने ल्याबमा पठाउँछौँ,” उहाँले भन्नुभयो । हात्तीको सुँढको टुप्पादेखि छाती अर्थात् फोक्सोसम्मको भाग लामो हुने भएकाले पनि एक्सरे गर्न गारो हुने बताइन्छ । हात्तीलाई औषधी खुवाउन पनि सजिलो छैन । जानकारहरूका अनुसार भेली, कुचीलगायतका खाद्यान्नमा मिसाएर मुखबाट खुवाउने, नसके पानीमा घोलेर मलद्वारबाट पाइप लगाएर पठाइने जानकारी दिन्छन् । मुखबाट खाए जस्तो प्रभावकारी मलद्वारबाट दिएको नहुने चिकित्सकहरू बताउँछन् । नेपालमा निकुञ्ज तथा संरक्षित क्षेत्रसँग १०७ र निजी क्षेत्रसँग ५० वटा हात्ती छन् । जसमध्ये चितवनमा निकुञ्जमा ५५ वटा र निजी क्षेत्रसँग ४० वटा हात्ती छन् । यसका अलवा नेपालमा झन्डै दुई सय जङ्गली हात्ती रहेकामा चितवनमा ५५ देखि ६० रहेको निकुञ्जले जनाएको छ । यसैबिच साउन २८ गते अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइँदै छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...