तालिबान सत्तारोहणका तीन वर्ष

Published on

काठमाडौं । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ । नेताहरूको भाषण सुन्न र सैन्य परेड हेर्नका लागि काबुलबाट करिब ४० किलोमिटर टाढा रहेको बेसमा विदेशी कूटनीतिज्ञसहित सयौँ व्यक्ति भेला भएका थिए । सन् २०२१ को अगष्ट १५ मा अमेरिका समर्थित सरकार ढलेपछि र यसका नेताहरू निर्वासनमा भागेपछि तालिवान सेनाले राजधानी काबुल कब्जा गरेको थियो । यो वर्षगाँठ अफगान क्यालेन्डरमा एक दिन अघि नै मनाइन्छ । दुई दशकदेखि अफगानिस्तानमा अमेरिकी नेतृत्वको अभियानको केन्द्रको रूपमा रहेको अफगानिस्तानको सबैभन्दा ठूलो हवाई अड्डामा भएको कार्यक्रममा वरिष्ठ तालिवान अधिकारीहरू हेलिकप्टरमा पुगेका थिए । आफ्नो २० वर्षे विद्रोह अन्त्य गरेको तीन वर्षमा तालिबान सरकारले इस्लामको कडा व्याख्यामा आधारित कानुनहरू लागू गर्दै देशमाथि आफ्नो पकड बलियो बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ भनिने नीतिको मार झेलिरहेका महिलामाथिको प्रतिबन्धका कारण सरकार अन्य कुनै पनि राज्यबाट मान्यता प्राप्त गर्न सकेको छैन । समारोहको केही दिन अघि, तालिवान कार्यकर्ताहरू काबुल वरिपरि वार्षिकोत्सवको मितिको साथ ‘बधाइ’ लेखिएको ब्यानर र साइनबोर्डहरू टाँस्न व्यस्त थिए ।

इस्लामिक कानुन मुख्य प्राथमिकतामा

पूर्व अमेरिकी बगराम एयर बेसमा गरिएको सभालाई सम्बोधन गर्दै तालिबानका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले इस्लामिक शासन कायम राख्नु र राष्ट्रियताको सुरक्षा गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “इस्लामिक शासन कायम राख्ने, सम्पत्तिको रक्षा गर्ने, जनताको जीवन रक्षा गर्ने र हाम्रो राष्ट्रको सम्मान गर्ने जिम्मेवारी तालिबान सरकारको हो ।” अखुन्दले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै ‘यस मितिमा अल्लाहले मुजाहिद राष्ट्र अफगानिस्तानलाई एक अन्तर्राष्ट्रिय घमण्डी र कब्जा गर्ने शक्तिमाथि निर्णायक विजय प्रदान गर्नुभयो’ भन्नुभएको थियो । राजधानी र तालिबानको आध्यात्मिक अखडा कान्दाहारमा ‘विजयको दिन’को पूर्वसन्ध्यामा थप सुरक्षा व्यवस्था गरिएको छ । तालिवान आन्दोलनको उद्गमस्थल र धार्मिक आदेशमार्फत शासन गर्ने नेता हिबतुल्लाह अखुन्दजादाको घर रहेको दक्षिणी शहर कान्दाहारमा पनि ठूलो सुरक्षा र सजावट गरिएको छ ।

बढ्दो मानवीय सङ्कट

तालिवान अधिकारीहरूको लागि सुरक्षा एक प्रमुख प्राथमिकता रहेको छ र धेरै अफगानी नागरिकले लगातार २० वर्षको द्वन्द्वको अन्त्यमा राहत व्यक्त गरे तापनि अर्थव्यवस्था सङ्कटमा छ र समाजले बढ्दो मानवीय सङ्कटको सामना गरिरहेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी समूहको संयुक्त वक्तव्यमा दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको भन्दै सहायता कोषको खाडल बढ्दै गएको चेतावनी दिइएको छ । ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सार्वजनिक जीवनबाट वञ्चित र माध्यमिक तथा उच्च शिक्षाबाट प्रतिबन्धित महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिबान सरकारलाई दबाब दिन आग्रह गरेको छ । “तालिबानले कब्जा गरेको तेस्रो वर्षगाँठ अफगानिस्तानको मानव अधिकार सङ्कटको गम्भीर सम्झना हो, तर यो कार्यको आह्वान पनि हुनुपर्छ,” एचआरडब्ल्यूका लागि अफगानिस्तानका अनुसन्धाता फेरेस्ता अब्बासीले भन्नुभयो । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...