प्रदेश विकास समस्या समाधान समितिको बैठकबाट ९ वटा एजेण्डा पारित

Published on

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ९ वटा एजेण्डालाई सर्वसम्मतले पारित गरेको छ । सो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घ सरकारबाट गत वर्ष समानीकरणको रकम २६ प्रतिशतले घटेर आउँदा स्थानीय तह र प्रदेश सरकारको पुँजीगत खर्चमा दबाब परेको बताउनुभयो । सङ्घ सरकारले प्रदेश सरकारलाई एकीकृत विकास निर्माण सम्पन्न गर्ने एउटा निकाय जस्तै ठानेको उहाँको आरोप थियो । मुख्यमन्त्री पाण्डेले प्रदेशका लागि संविधानमा लेखिएका अधिकार पनि संसद् र सरकारले समयमा नबनाइदिँदा प्रदेश सरकारलाई हातखुट्टा बाँधेर दौडाउन खोजेको जस्तो भएको बताउनुभयो । उहाँले बैठकमा उठेका समस्याको बारेमा सम्बोधन गर्दै अन्नपूर्ण संरक्षण आयोजना भित्र रहेका १५ वटा पालिकाको गुनासो सुनेर यस अघिका प्रधानमन्त्रीलाई समेत अवगत गराइसकेको बताउनुभयो । अब पनि सुनुवाइ भएन भने आफ्नो अधिकारका लागि अदालत नै जाने उहाँको चेतावनी थियो ।

बैठकमा बहुवर्षीय योजनाहरूको रकम विनियोजनअन्तर्गत बजेट सिलिङ प्रदान गर्ने, रायसहित बहुवर्षीय योजना र रूपान्तरण कार्य योजनाका लागि बजेट छुट्याए पश्चात् बाँकी रहेको रकमबाट विषयगत मन्त्रालयमा सिलिङ प्रदान गर्न आवश्यक कानुनी र संरचनागत सुधार गर्ने रहेको छ । त्यसैगरी खुद्रा तथा पूर्व तयारी नभएका योजनामा रकम विनियोजन हुनु र यसका लागि आयोजना बैङ्कमार्फत कार्यान्वयन गर्ने रहेको छ । कर्मचारीहरूको जनशक्ति व्यवस्थापनको लागि दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्न सर्वेक्षण गरी प्रदेश निजामती किताब खानामा पद दर्ता तथा पदपूर्ति गर्ने रहेको छ । आर्थिक मामिला मन्त्रालयबाट श्रोत सुनिश्चित गरी कार्यान्वयन भएका ५ करोडभन्दा माथिका योजनालाई बहुवर्षीय योजना सरह रकमान्तरको व्यवस्था गर्ने रहेको छ । त्यसैगरी राइड सेयरिङको व्यवस्थापन गर्न कानुनी व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । आयोजना सम्पन्न नभएसम्म सेवा प्रदान गर्न नसकिने खानेपानी, सिँचाइलाई निरन्तर रूपमा बजेट सुनिश्चितता गर्न व्यवस्था गर्ने र कृषि ज्ञान केन्द्र मुस्ताङ र बागलुङको भवन अन्य निकायले प्रयोगमा ल्याइरहेको हुँदा प्रदेश मातहत रहेका भवनलाई स्थानीय तहको सहयोगमा खाली गराई प्रयोगमा ल्याउनेलगायतका योजनाहरू पारित भएका छन् ।

प्रदेश समन्वय समितिको बैठकमा पेस गर्नका लागि पनि विभिन्न २५ बुँदाहरू समेत बैठकले पारित गरेको छ । बैठकमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापाले प्रदेशमा विशिष्टीकरण अस्पतालको स्थापना र पर्यटकीय राजधानी पोखराको प्रवर्द्धनका लागि फेवाताल र बेगनासताललगायत तालमा हुने ढुङ्गा सेयरका साथै अन्य साहसिक खेलका गतिविधिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङले माननीयहरूका कारण योजनाहरूमा दोहोरोपना हुने गरेको बताउनुभयो । गण्डकी प्रदेशका अर्थमन्त्री डा।टकराज गुरुङले बहुवर्षिय योजनाहरूमा बजेटको सिलिङ अभाव रहेको बताउँदै अब हरेक संरचनाहरूको पुनमूल्याङ्कन गर्ने बेला आएको बताउनुभयो । त्यसैगरी उर्जामन्त्री फण्डिन्द्र देवकोटाले सशर्त अनुदान बिचमा नै काटिँदा आयोजनाहरू अलपत्र पर्ने गरेको बताउनुभयो । सो बैठकमा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च र सेवालाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता विकासका लागि तालिमको व्यवस्था गरिएको बताउनुभयो ।

बैठक आयोजक संस्था गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा।कृष्ण देवकोटाले आत्मनिर्भर, समुन्नत प्रदेश र सुखी प्रदेशवासीको सोचअनुरूप नीति आयोगले प्रादेशिक विकास तथा रूपान्तरणका लागि १४ वटा प्रमुख क्षेत्र निर्धारण गरेको बताउनुभयो । बैठकमा व्यास नगरपालिका प्रमुख बेकुण्ड न्यौपानेले खनिज चुनको बारेमा र वनबाट प्राप्त हुने राजश्वको बारेमा समस्या रहेको बताउनुभयो । त्यस्तै बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले सङ्घ सरकारकै बजेटबाट सुरु भएका योजना ७ वर्षसम्म पनि सम्पन्न नहुने र ५(१० लाख मात्र बजेट आउने नीतिले जनप्रतिनिधिहरू समेत लज्जित हुनु परेको बताउनुभयो । सो बैठकमा सहभागी सदस्य एवं पालिका प्रमुख, उपप्रमुख, विषयगत मन्त्रालयका सचिवहरूले छलफलमा आएका एजेण्डामा बोल्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...