जनतामा जानुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

Published on

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन ।” उहाँले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाउनुभयो । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो ।

पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनुभयो । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताउनुभयो । नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारकाविरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गर्नुभयो । उहाँले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “रामवृक्ष यादव मधेसी जनताको आन्दोलनको बीचबाट जन्मिएको लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेसमा जनयुद्धको आधार तयार पार्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो ।”

तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव २०५१ सालमा सहिद हुनुभएको थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...