सङ्कटमा गङ्गापूर्ण हिमताल

Published on

काठमाडौं । अन्नपूर्ण चक्रीय पदमार्गको गन्तव्यका रूपमा रहेको मनाङको गङ्गापूर्ण हिमतालको अस्तित्व सङ्कटमा परेको छ । पछिल्लो समय उक्त हिमतालको स्वरूप नै खलबलिएको छ भने बर्सेनि ताल पुरिने क्रम बढ्दो छ । जलाधार संरक्षण र पर्यावरणीय सन्तुलनका लागि गङ्गापूर्ण हिमताल जोगाउनु पर्छ । अस्तित्व सङ्कटबाट गुज्रिरहेको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्य्रान थुप्रिँदा तालको सौन्दर्य खस्किरहेको छ । मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने उक्त हिमताल समुद्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा अवस्थित छ । गङ्गापूर्ण हिमालबाट बगेर आउने हिमनदीबाट उक्त ताल बनेको हो । हिमनदी तथा हिमताल पृथ्वीको पानीको स्रोत भएकाले तिनको संरक्षण गर्नुपर्ने आजको आवश्यकता छ ।

पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा रहेको मनाङमा केही वर्षअघि गङ्गापूर्ण हिमतालमा अभिनेता अमिताभ बच्चन, अनुपम खेरलगायत अभिनीत बलिउड चलचित्र ‘उचाइ’ को छायाङ्कन गरिएको थियो । कोरोनापछि पनि धेरै नेपाली तथा भारतीय चलचित्रको छायाङ्कन मनाङमै हुने गरेको छ । कोरोनापछि मनाङ आउने पर्यटकमा भारतीयको सङ्ख्या अधिक हुने गरेको छ । जाडोयाममा हिमताल जम्ने गरे पनि वर्षाका बेला भने हिमालको फेदबाटै हिउँ पग्लेर पानी तालसम्म आइपुग्ने गर्छ । मनाङ गाउँदेखि पैदल १५ मिनेटमा पुग्न सकिने उक्त हिमतालमा अहिले सडक पनि पुगेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा गरेको अध्ययन अनुसार नेपालमा दुई हजार ८६ हिमताल पाइएको छ । तीमध्ये २१ हिमताल जोखिममा छन् । जोखिममा रहेका २१ हिमतालमध्ये गङ्गापूर्ण हिमताल पनि एक हो । बेलैमा संरक्षण योजना अगाडि नबढे ताल नै नामेट हुने अवस्था रहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँले तीन वर्षअघि सुरु भएको ताल संरक्षण योजनाले गति नलिँदा तालको अस्तित्व झन् झन् सङ्कटमा परेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मनाङ ङिस्याङ गाउँपालिकाको साझेदारीमा ताल संरक्षणको काम अगाडि बढेको थियो ।

मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत रहने गरी सुरु गरिएको उक्त योजना बजेट अभावका कारण अलपत्र परेको अध्यक्ष घलेले बताउनुभयो । पहिलो वर्ष अलिकति काम भए पनि त्यसपछि माथिबाट बजेट पनि नआउनु अनि निर्माण कम्पनी पनि काममा नफर्केकाले गङ्गापूर्णको अस्तित्व अलपत्र परेको हो । २०७८ सालको अधिक वर्षा र बाढीले पुरिएको ताल संरक्षणमा स्थानीयले समेत पहल गरेका थिए । जनश्रमदान जुटाएर तालको ड्याम लगाउनेलगायत काम पनि भएको थियो । विसं २०७८ असोजमा ताल संरक्षणका लागि आवश्यक संरचना बनाउने जिम्मा निर्माण कम्पनी जलजलारशिवशक्तिरअधिकारी जेभीले पाएको थियो । चार करोड आठ लाख रुपियाँको ठेक्का खुलेकामा उक्त कम्पनीले भ्याटसहित दुई करोड ९५ लाख रुपियाँमा ठेक्का लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीले जानकारी दिनुभयो । पर्यटन मन्त्रालयबाट पहिलो वर्ष २५ लाख रुपियाँ बजेट आए पनि त्यसपछि बजेट निकासा हुन नसकेको क्षेत्रीले बताउनुभयो ।

हालसम्म योजनाको झन्डै २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उक्त योजना अन्तर्गत तालको ड्याम उठाउने, हिमनदीको कटान रोक्न ग्याबिन पर्खाल, तालपरिसरमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरी तालको दिगो संरक्षणको लक्ष्य लिइएको छ । मन्त्रालयबाट बजेट नआएमा गाउँपालिकाको बजेटले भ्याउनेसम्मका संरचना बनाउने विषयमा छलफल भइरहेको अध्यक्ष घलेले बताउनुभयो । मस्र्याङ्दीलगायत त्यस क्षेत्र भएर बग्ने नदीको स्रोतसमेत रहेको उक्त हिमताल जोगाउन सङ्घ र प्रदेश सरकारको ध्यान जान जरुरी छ । विश्वव्यापी तापमानमा भइरहेको वृद्धिबाट हिमालय क्षेत्र प्रत्यक्ष प्रभावित छ । माटो, बालुवा र गेग्य्रानसहितको संवेदनशील भूगोलमा हिमताल रहेकाले जुनसुकै बेला हिमताल फुट्ने र बाढीपहिराको रूप लिन सक्ने भएकाले यसको अस्तित्व सङ्कटमा परेको हो । हिमताल रहेका क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने, मानिस पुग्न नसक्ने ठाउँमा स्याटेलाइट, राडार जस्ता प्रविधिमार्फत हिमतालको नियमित अनुगमन र अध्ययन गर्नुपर्ने विज्ञले सुझाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...