औसतमा वार्षिक सात लाख तेह्र हजार नेपाली वैदेशिक रोजगारीमा

Published on

काठमाडौं । गत आर्थिक वर्ष २०८०\८१ को साउनको तुलनामा चालु आव २०८१\८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुभयो । पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।

विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जनाएको छ । श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको श्रमका जानकार रामेश्वर नेपालले बताउनुभयो । गत आवको तथ्याङ्कसहित विगत तीन वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छाडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएकासमेतको हो ।

विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या रहेका छन् । गत आवमा रोजगारी खोज्दै सात लाख ४१ हजारभन्दा बढी युवा विदेश गएका थिए भने अघिल्लो वर्ष सात लाख ७१ हजार बढीले श्रम स्वीकृति लिएर विदेश गएका थिए । मलेसियाका लागि श्रम स्वीकृति दिन बन्द गरेको कारण अघिल्लो आवभन्दा गत आवमा विदेश जानेको सङ्ख्यामा कमी आएको हो । सरकारले श्रम स्वीकृतिको तथ्याङ्क राख्न थालेको ३० वर्षमध्ये अघिल्लो आव र गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो । आव २०७८\७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या छ लाख ३० हजार ९० थियो ।

आव २०७७\७८ मा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६\७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्क छ । आव २०७७\७८ मा कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पूरै घटेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...