दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ: प्रचण्ड

Published on

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । आगामी मङ्सिरमा तय गरिएको दसौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्व प्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताउनुभयो । ‘दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’– उहाँले भन्नुभयो– ‘यसमा पनि राजनीति गरेर दसौँ राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौँ खेलाडी र खेल प्रेमीका लागि घात हुनेछ।’

उहाँले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘यो अहिलेसम्मका रङ्गशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुन रुपमा निर्माण करिब करिब सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो’– उहाँले भन्नुभयो– ‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खास गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री विमला केसीको पालामा यो रंगशालालाई प्रदेशको गौरवको आयोजनाको रूपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ ।’

रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताउनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उहाँले गर्नुभयो । आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको पनि उहाँले स्पष्ट गर्नुभयो । अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुद मन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्जाल लगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो। यसैबिच अध्यक्ष प्रचण्डले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्ने पलेसा गोवर्द्धन लगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभएको छ । सुर्खेत रङ्गशाला अनुगमनपछि उहाँले यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...