थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

Published on

काठमाडौं । खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ । साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताउनुभयो । उहाँका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ । यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ ।

गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दुर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले बताउनुभयो । “पूजा हुनुअघिसम्म मादल बजाउन पाइँदैन”, उहाँले भन्नुभयो, “पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन भने छ ।” गाँधी, गुभियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ । केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्दछन् । यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ । तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकाको जीउमा देवता सवार गराउने चलन पनि रहेको छ । केशौकाको जीउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्दछन् । शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाध्ने कार्य गरिन्छ । आगोले नछोएमा सुभसङ्केतका रूपमा लिइन्छ । दुई दिन लगाएर यो पूजा सम्पन्न गरिन्छ ।

पूजा सकिएको दिउँसोदेखि रातभर नाचगान गर्ने गरिन्छ । यो पूजा गरेमा धानबाली सप्रिने र खेतबारीमा हरियाली भइरहने भन्ने विश्वास रहेको जोनापुरका बरका गुरुवा फूलराम चौधरीले बताउनुभयो । उहाँका अनुसार पूजाको अर्को दिन खरिभन (दूध र आगो) खेतको पानीमा मिसाउने चलन छ । त्यसो गर्दा धानबाली सप्रिने जनविश्वास रहेको छ । थारू समुदायका गाउँमा अहिले यो पूजा गर्ने क्रम सुरु भएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...