ढोरपाटनमा उच्च घनत्वको स्याउ खेती

Published on

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फुजी, रेड गरी चार जातका स्याउका बेर्ना रोपिएको थियो । मसमा परीक्षणका रूपमा लगाएका स्याउमा राम्रो फल लागेको छ । गत वर्ष १६ रोपनी क्षेत्रफलमा इटालीबाट ल्याएर रोपिएका एक हजार ३२० मध्ये पाँच सय बेर्ना मरेको सञ्चालक सदस्य घर्तीमगरले बताउनुभयो । उहाँले बाँचेकाबाट बगानमा स्याउ फल्न लागेपछि थप व्यवस्थित गर्दै ७० रोपनी बढी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको जानकारीसमेत दिनुभयो । अहिलेसम्म करिब तीस लाख रुपियाँ लगानी भएको उहाँको भनाइ छ । समुद्री सतहदेखि दुई हजार ८२४ मिटर उचाइको क्षेत्रमा परम्परागत आलु, सिमी, मकै, फापर र उवालगायतका खेती गरिँदै आएको छ ।

स्थानीयको बाँझो जमिन भाडामा लिएर छ जनाले सामूहिक रूपमा व्यावसायिक स्याउ खेती सुरु गरेको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । परीक्षणका लागि लगाएका स्याउले राम्रो फल दिएको उहाँ बताउनुहुन्छ । ज्ञान केन्द्रले बेर्नामा ७५ प्रतिशत, स्याउलाई सपोर्ट सिस्टम र मलका लागि पचास प्रतिशत अनुदान उपलब्ध गराएको थियो । अन्य आवश्यक कृषि सामग्री, सिँचाइ व्यवस्थापनलगायतमा पनि ज्ञान केन्द्रले सहयोग गरेको कार्यालय प्रमुख सिलवालको भनाइ छ । “मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा खेती गरिँदै आएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती ढोरपाटनको मसमा परीक्षणका रूपमा लगाएको र राम्रो फल दिएकाले परीक्षण सफल भएको उहाँ बताउनुहुन्छ । स्याउ खेतीका लागि आवश्यक सामग्री र तालिमका लागि कार्यालयले सहयोग गर्ने कार्यालय प्रमुख सिलवालले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङले सोही वडाको नवीलगायत विभिन्न ठाउँमा तीन वटा चक्लाबन्दी कार्यक्रममा आधारित तीन समूहमार्फत करिब ३६० रोपनी क्षेत्रफलमा करिब पाँच हजार पाँच सय स्याउका बेर्ना रोपिएको निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७९\८० मा एक र गत आर्थिक वर्षमा दुई वटा गरी तीन वटा कृषि समूहमार्फत बेर्ना, सिँचाइ, यन्त्र उपकरणका लागि करिब २४ लाख रुपियाँ अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो । मुस्ताङबाट रोयल र गोल्डेन जातका स्याउका बेर्ना ल्याएर नवीमा रोपिएको ढोरपाटन नवी प्रगतिशील कृषि समूहका अध्यक्ष प्रेमबहादुर सुनारले बताउनुभयो । “रैथाने बालीबाट राम्रो आम्दानी नभएपछि यस क्षेत्रका कृषक स्याउ खेती विस्तारमा लागेका छन्,” उहाँले भन्नुभयो । यस्तै निसीखोला गाउँपालिका–५, निसेलढोरलगायत क्षेत्रमा पनि स्याउ खेती गरिँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...