महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन

Published on

काठमाडौं । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ । दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको रकमबाट दुईतले सभाहलसहितको भवन निर्माण गरेका हुन् । उक्त समूहका अध्यक्ष मीनकुमारी गर्बुजाले सामुदायिक भवन निर्माणपछि भेला, बैठक, तालिम, गोष्ठी, छलफलका लागि व्यक्तिको घर, विद्यालयमा पुग्नुपर्ने समस्या हटेको बताउनुभयो ।

“गाउँमा दुई–चारजना भेला भएर छलफल गर्न कुनै व्यक्तिको आँगन र पिँढीमा बस्नुपर्दा समस्या भएको थियो”, उहाँले भन्नुभयो, “भवन बनेपछि विवाह, किरिया, छेवारजस्ता संस्कारगत कार्य गर्न पनि सहज भएको छ ।” मगर बाहुल्य दग्नामका करिब एक सय ५० परिवार सो भवनबाट लाभान्वित भएका छन् । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख, रघुगङ्गा गाउँपालिकाले रु ४५ लाख, रघुगङ्गा हाइड्रोपावरले रु पाँच लाख, सामाजिक विकास कार्यालयले रु ७५ हजार मूल्य बराबरको फर्निचर सहयोग गरेका छन् । आमा समूहले गाउँमा आउने पाहुनालाई स्वागतका लागि गर्ने नाचगान, चन्दा र आन्तरिक कोषको रु पाँच लाख १५ हजार पनि भवन निर्माणमा परिचालन गरेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा गर्बुजाले बताउनुभयो ।

श्रमदानसहित भवन निर्माणमा रु एक करोडभन्दा बढी खर्च भएको अध्यक्ष गर्बुजाले बताउनुभयो । भवन निर्माणका लागि स्थानीय दुर्गाबहादुर पुनले रु ५० हजारमा एक रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । सामुदायिक भवनलाई विपद् व्यवस्थापनका लागि पनि प्रयोग गर्न सकिने वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो । शनिबार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुनलगायत उपस्थित हुनुहुन्थ्यो । रासस

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...