मीना परियार हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Published on

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हत्या मुद्दाका सबै आरोपीलाई जिल्ला अदालत म्याग्दीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीहरूलाई थुनाका लागि कारागार चलान गर्न आदेश भएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो ।

अदालतको आदेशानुसार मीनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई थुनाका लागि म्याग्दी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । गर्भवती मीनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरूविरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार मागदाबी गरी ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो । आठ महिनादेखि बेपत्ता रही गत २७ गते जङ्गलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरीअनुसार अनुसन्धान हुँदा अभियुक्तले बयानमा हत्या स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०८० पुस १६ गतेबाट बेपत्ता हुनुभएका परियारको शव गत साउन २७ गते जङ्गलमा गँगटा खोज्ने क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । गिठिनी जङ्गलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्री, सल, चप्पल र कपडाबाट उक्त शव करिब आठ महिनादेखि बेपत्ता १९ वर्षीया मीनाकै भएको भन्दै परिवारले सनाखत गरेका थिए । मृतकका बुबाले गत साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम, निजकी आमा, दाइभाइ र सालासमेत गरी पाँच जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दायर गरेका थिए । तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्रीबिच प्रेमसम्बन्ध भइ पटकपटक यौन सम्पर्कबाट मीनाको छ महिनाको गर्भ रहेको खुलेपछि रामले पटकपटक उक्त गर्भपतन गर्न दबाब दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो । हत्याका मुख्य अभियुक्त खत्री यसअघि विसं २०७६ फागुनमा बेनी नगरपालिका–५ पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको भेटीएको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

मिनाको हत्यामा संलग्न भनिएका अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशपछि परिवारले ९ महिनापछि मीनाको बुधबार कालिगण्डकी र म्याग्दीको संगमस्थलस्थित घाटमा दाहसंस्कार गर्दैछन् । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...