पहिरोमा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई राहत रकम दिन समस्या

Published on

काठमाडौं । हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै राहत रकम प्रदान गर्न सकेको छैन । पहिरोमा परि ज्यान गुमाएका ५७ वर्षीय उर्मिला पहरी, ११ वर्षका विज्ञान पहरी र खुट्टाको पाइताला मात्रै फेला परेको २३ वर्षकी बिन्दा पहरीको अझै हकवाला पहिचान हुन सकेको छैन । त्यसैगरी पहिरोमा बेपत्ता भएका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरीको पनि राहत रकम बुझ्ने हकवाला पहिचान हुन सकेको छैन ।

पहिरोमा ज्यान गुमाएका मध्ये पाँच जनाको परिवारलाई राहत उपलब्ध गराइसकिएको र बाँकी मृतक तथा बेपत्ताको विधि प्रक्रिया अनुसारको हकवाला पहिचान हुन नसक्दा राहत रकम प्रदान गर्न समस्या भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका सदस्य सचिव किसान न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोमा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ र प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम राहत रकम प्रदान गरियो । मृतक तीन जना र बेपत्ता दुई जनाको विधि र प्रक्रिया अनुसार हकवाला पहिचान हुन नसक्दा राहत रकम दिन समस्या भयो। विधि र पक्रिया अनुसार स्थानीय तहबाट हकवाला पहिचान भएर आएपछि तत्काल राहत रकम उपलब्ध गराउन समस्या छैन ।” हकवाला पहिचान बाहेक मृतक तथा बेपत्ताका परिवारलाई राहत रकम दिने विषयमा अन्य कुनै पनि समस्या नरहेको उहाँले बताउनुभयो ।

पहिरोमा परी ज्यान गुमाएकी ७५ वर्षीया पुड्की पहरीको परिवारले सङ्घीय कोषबाट दुई लाख र प्रदेश कोषबाट एक लाख गरी तीन लाख रुपियाँ राहत रकम पाएका छन् । त्यसैगरी ३० वर्षका सन्दीप पहरी र ११ वर्षका सन्तोष पहरीको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ, ३२ वर्षकी चण्डिका थापा मगर र १८ महिनाका आमोष श्रेष्ठको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपियाँ राहत रकम पाएका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क स्थित पहरी गाउँमा गत भदौ ९ गते बिहानी पख अविरल वर्षा पछिको पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको शव भेटिएको थियो भने एक जनाको खुट्टाको पाइताला मात्रै भेटिएको थियो । पहिरोमा परेका ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरी भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...