धार्मिक पर्यटकहरुको गन्तव्य बन्दै सताक्षीधाम

Published on

काठमाण्डौँ । केही बर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तिब्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजूली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवगमन बढेको हो । सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको धार्मिक महत्व अझ उजागर भएको बताइन्छ । उहाँ अलपत्र परेका गाई–गोरुहरु ल्याएर संरक्षण तथा हेरचाह गरिदैआएको छ । गौशाला निर्माणले यस क्षेत्रको मुहार फेरिएको सताक्षीधाम बिकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो ।

बिगत १० बर्षमा यहाँको स्वरुप नै परिवर्तन भएको छ, उहाँले भन्नुभयो । सडकको सहज पहुँच, बिधुत र यहाँ बनेका नयाँ मन्दिर तथा संरचनाहरुले धार्मिक पर्यटकलाई यहाँसम्म सहज रुपमा ल्याउन थालेको उहाँले बताउनुभयो । पूर्वकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा सताक्षीधामको नाम आउन थालेको उहाँले उल्लेख गर्नुभयो । सताक्षीधाम परिसरमा रहेको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजका अनुसार आफूहरुलाई विश्वास गरेर दाताहरुले गरेको विश्वास र सहयोगले सताक्षीधामको महिमा बढेको छ । यहाँ करोडौंका धार्मिक संरचनादेखि लिएर सस्कृत पाठशालासम्म सञ्चालन भएको उहाँले बताउनुभयो ।

१० बर्ष अघिदेखि हामीले गोरक्षका लागि महोत्सव पनि आयोजना गर्दै आएका छौ, उहाँले भन्नुभयो । सताक्षीमाताको मन्दिर विश्वमा एकमात्र यहीं रहेकाले यसको महत्व पनि धेरै रहेको उहाँले बताउनुभयो । सुरुवातका दिनहरुमा यहाँ काम थाल्दा आफूले निकै कष्ट भोगेको स्मरण गर्दै उहाँले अहिले विश्वास आर्जित भएपछि भक्तजनको दानबाट नै यहाँको विकास भइरहेको बताउनुभयो । नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्याण्ड, युके, फिनल्यान्डलगायत मुलकमा रहेका भक्तजनले यस क्षेत्रको विकासका लागि योगदान दिएको उहाँले जानकारी दिनुभयो । स्थानीय, संघीय र प्रदेश सरकारको पनि सहयोग रहेको छ, उहाँले भन्नुभयो ।

सताक्षीधाममा आउने धार्मिक पर्यटकको बसोबासका लागि धर्मशाला निर्माण, साधुसन्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर आश्रम बनाउने काम पनि धमाधम भइरहेको छ । नेपालमा पहिलो पटक द्वादश ज्योतिर्लिङ्ग सताक्षीधाममा निर्माण भएपछि यसको धार्मिक महत्व थप बढेर गएको भारद्वाजले बताउनुभयो । बालाचतुर्दशी, शिवरात्री, गुरुपूर्णिमा, रामनवमी, गोरक्षा महोत्सवजस्ता पर्वमा सताक्षीधाम क्षेत्रमा धार्मिक मेलामा हजारौको भिड लाग्ने गरेको गौशलाका सचिब मदन मोहन अधिकारीले बताउनुभयो । गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजको पहल र उहाँको प्रयासले सताक्षीधामले नयाँ पहिचान पाएको उहाँको दाबी छ । एकजना सन्तको प्रयास र स्थानीयको विश्वासले यो सम्भव भएको हो, उहाँले भन्नुभयो । शिवसताक्षी नगरपालिकाले पनि यसलाई झापाको प्रमुख धार्मिकस्थलको रुपमा बिकास गर्न गुरुयोजना बनाएको छ । नगरपालिकाका प्रमुख रोशन थोप्राका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सताक्षीधामको बिकास र प्रवर्धनका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...