गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’

Published on

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबिच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गाजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उहाँ विश्वस्त देखिनुभएन ।

जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भन्नुभयो, “हेर्नु, म आशावादी छु । तपाईं पनि हुन पर्छ ।” उहाँले भन्नुभयो, “हामीले जिम्मेवारीबाट बिदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।” वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उहाँले भन्नुभयो, “हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ ।” उहाँले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएकोतर्फ सङ्केत गर्दै भन्नुभयो, “युद्धविराम हुनुपर्छ । यो हुन आवश्यक छ । हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ ।”

युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्याङ्कन दोहोर्‍याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताउनुभयो । ब्लिन्केनले गाजामा दीर्घकालीन उपस्थितिको समर्थन गर्ने इजरायली नेतृत्वको भनाइलाई अस्वीकार गर्दै युद्धको अन्त्य इजरायलको हितमा छ र युद्धपछि सम्झौता हुनु आवश्यक छ भन्ने आफ्नो अडान दोहोर्‍याउनुभयो । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको अभूतपूर्व आक्रमणका कारण एक हजार २०८ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।

हमास आक्रमणको बदलामा गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ४५ हजार ९७ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । राष्ट्रसङ्घको तथ्याङ्कअनुसार इजरायली आक्रमणबाट गाजास्थित प्यालेस्टिनी इलाकाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ, जसका कारण १९ लाखभन्दा बढी प्यालेस्टिनीहरू विस्थापित भएका छन् । यो गाजाको कुल जनसङ्ख्याको करिब ९० प्रतिशत हो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...