ट्रम्पले कार्यभार सम्हाल्नुअघि युक्रेनका सहयोगी राष्ट्रले रक्षा बैठक

Published on

काठमाडौँ । पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक अमेरिकी आधार शिविरमा भेला भएका छन् । यसलाई अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिनुभन्दा पहिले हुने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) गठबन्धन सदस्यहरूको अन्तिम बैठकका रूपमा हेरिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रामस्टीन एयर बेसमा हुने २५ औँ वार्तामा किएभका लागि पर्याप्त नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्ने अपेक्षा गरिएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफू बैठकमा सहभागी हुने बुधबार अबेर मात्र बताउनुभएको छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियससँगै युक्रेनरक्षा सम्पर्क समूहको बैठकमा नेटोका महासचिव मार्क रुट र युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लास पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

करिब तीन वर्ष लामो युद्धमा संलग्न रूसी र युक्रेनी सेनाले जनवरी २० मा ट्रम्पको शपथ ग्रहणअघि नै आ–आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेका छन् । किएभका लागि अमेरिकी सैन्य सहायताको आलोचना गर्दै आएका ट्रम्पले सत्तामा आएपछि युद्धको शीघ्र अन्त्य गर्ने वाचा गर्नुभएको छ तर युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव गर्नुभएको छैन ।

राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठुलो युद्धकालीन समर्थक भएको छ । अमेरिकाले फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरेको छ भने एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीका अनुसार सहायताको बारेमा ‘पर्याप्त घोषणा’ बिहीबारको बैठकमा आउने सम्भावना छ ।

जर्मनी युक्रेनको दोस्रो ठुलो समर्थक हो । जर्मनीसँगबाट युक्रेनले अहिलेसम्म करिब ३० अर्ब अमेरिकी डलर प्राप्त गरेको छ । अस्टिनले बुधबार एएफपीसँग कुरा गर्दै युक्रेनमा अमेरिकी नेतृत्व ‘आवश्यक’ रहेको र किएभका लागि निरन्तर सैन्य सहयोग जारी हुनु महत्त्वपूर्ण रहेको बताउनुभयो । रासस/एएफपी

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...