‘छोरी बचाउ छोरी बनाउ’ कार्यक्रम प्रभावकारी बन्दै

Published on

काठमाडौँ । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी बचाउ छोरी बनाउ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४-०७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाहरूको बालबचत खाता खोली रकम जम्मा गरिएको छ । आर्थिक वर्ष २०७४-७५ मा जम्मा ७४ जना बालिकाको नाममा खाता खोल्न लगाई गाउँपालिकाले दुई हजार रुपियाँ खातामा राखिदिएर कार्यक्रमको सुरुवात गरेको थियो ।

आर्थिक वर्ष २०७९-८० देखि पालिकाले कार्यविधि नै बनाएर बालबचत खातामा प्रति बालिका पाँच हजार रुपियाँ रकम राख्दै आएको छ । अभिभावकले खोलेको बालबचत खातामा गाउँपालिकाले रकम बचत जम्मा गरिदिने गरेको हो । गाउँपालिकाले सञ्चालन गरेको बालिका बचाउ कार्यक्रमबाट हालसम्म पाँच सय ५६ जना बालिका लाभान्वित भएका छन् । सुरुको वर्षमा कम सेवाग्राही उपस्थित भएपनि पछिल्लो वर्षमा एक सयभन्दा बढी बालिकाले सेवा लिने गरेका छन् । छोरी बचाउ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले तिन लाख ३७ हजार रकम लिई सकेका छन् । अघिल्लो आर्थिक वर्षमा एक सय ३५ जना बालिकाले ६ लाख ७५ हजार रकम बैँक खातामा जम्मा गरेका थिए ।

बालबचत खातामा जम्मा गरेको रकम बालिका १८ वर्ष पुरा नहुँदा सम्म निकाल्न पाइदैन । गाउँपालिकाले खातामा राखिदिएको रकमको व्याज हरेक वर्ष जोडिँदै जाने गरेको छ । अधिकांश अभिभावकले छोरीका नाममा रहेको खातामा थप रकम जम्मा गर्दै आएका छन् । बालिकाले रकम पाउनका लागि अभिभावकको नागरिकता, विवाह दर्ता, जन्मदर्ता, खोप कार्डको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, बैँक खाता नं. सहित जन्मेको ४५ दिनभित्र गाउँपालिकामा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ ।

गाउँपालिकाले बालविवाह गरेका अभिभावकलाई छोरी बचाउ कार्यक्रममा समावेश नगर्ने हुनाले पनि बालविवाह कम गर्नका लागि सहयोग पुगेको महिला बालबालिका तथा जेष्ठनागरिक शाखाकी प्रमुख रमा पुनमगरले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा बालविवाह कम हुनुका साथै अभिभावकले समयमै बालबालिकाको जन्म दर्ता गर्न थालेका छन् । हाल गेरुवा गाउँपालिकामा बाल बचत खाता खोल्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाले छोरीहरूको नाममा खाता खोल्न थालेपछि अभिभावकले छोराहरूको नाममा पनि खाता खोल्ने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा छोरी जन्मेपछि हेरिने दृष्टिकोण समेत परिवर्तन भएको छ ।

गाउँपालिकाले खोली दिएको खातामा अभिभावकले समेत बचत गर्न थालेको गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो । उहाँले छोरीहरू प्रतिको विभेद अन्त्य गर्नका लागि आफूले अघिल्लो चुनाव जितेपछि पहिलो कार्यक्रम ल्याएको बताउँदै उद्देश्य अनुसार नै काम भइरहेको बताउनुभयो । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर चन्दले बालिकाको संरक्षणका लागि कार्यविधि नै बनाएर छोरी बचाउ कार्यक्रम लागु गरिएको बताउनुभयो । छोरी माथी हुने विभेद अन्त्य गर्नका लागि सुरु गरिएको कार्यक्रमले २० वर्षपछि विवाह गर्ने र समय मै बालबालिकाको जन्मदर्ता गर्ने प्रचलन बढ्दै गएको बताउनुभयो ।

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...