स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता

Published on

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुनसकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहले निर्धारित समयभित्र ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेको जानकारी दिनुभयो । “स्ववियु निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्तामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ, नेपालका अधिकांश विद्यार्थी सङ्गठनका साथै विद्यार्थीहरूका विभिन्न समूहले पनि दर्ता गराउनुभएको छ”, उहाँले भन्नुभयो ।

नेपाल विद्यार्थी सङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराममा स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको नेतृत्व विकासमा असर पार्दै आइरहेको बताउनुभयो । “स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा अनुपम नमूना हो । त्यहाँबाट निर्वाचित नेतृत्वले विद्यार्थीको हकहित र समग्र क्याम्पसको विकासमा साझेदारी भएर काम गर्न सक्छन् । तर, दुर्भाग्य यहाँ निर्वाचन नहुँदा कयौँ विद्यार्थीको नेतृत्व गर्न चाहनेका लागि भने घाटा हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “निर्वाचनमा जितहार सामान्य कुरा हो । लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन हुनैपर्छ । त्यसमा सबै विद्यार्थी सङ्घ, सङ्गठनले निर्वाचन प्रक्रियालाई अघि बढाउन हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।”

त्यसैगरी, वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा पनि चार विद्यार्थी सङ्गठनले दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने कार्यक्रम थियो । वीरगञ्ज नर्सिङ क्याम्पसका सूचना अधिकारी सुरेन्द्र ओझाले वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनका लागि चार विद्यार्थी सङ्गठनले दर्ता गरेको जानकारी दिनुभयो । “बिहान ११ बजेदेखि तीन बजेसम्म दर्ताको समय तोकिएको थियो”, उहाँले भन्नुभयो, “निर्धारित समयमा चार विद्यार्थी सङ्गठनले दर्ता गराउनुभएको छ ।” क्याम्पसका अनुसार अगामी चैत ५ गते हुने निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू०ले स्ववियु निर्वाचनका लागि सङ्घ, सङ्गठन दर्ता गरेका छन् ।

दर्ता गर्न आएका विद्यार्थी सङ्गठन आफ्ना प्रतिनिधिसहित आएका थिए । त्रिविले सार्वजनिक गरेको स्ववियुको निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने तोकिएको छ । त्यस्तै फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय तोकेको छभने सोही दिन बेलुका ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । फागुन २६ गते बिहान ११ देखि २ बजेसम्मको अवधिमा उम्मेदवारको मनोनयपत्र वितरण गर्ने, फागुन २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने छ र चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । रासस

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...