काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताउनुभएको छ। नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै जनतालाई गुणस्तरीय सेवा दिनका लागि योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताउनुभएको हो। अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतका सहयोग आवश्यक रहेको बताउनुभयो।
सरकारसँगै बिमामा सूर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसस्थामा काम गर्नेले दुई प्रतिशत बिमा बोर्डमा जम्मा गर्न सक्ने अवस्था भए अहिले बिमा क्षेत्रमा देखिएको समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने बताउनुभएको हो।सरकारले बिमाका लागि छुट्याउने रकमको खर्च बढेको र अहिलेको अवस्थामा खर्चले धान्न नसक्ने अवस्था भएकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीलाई अघि सारेको भन्दै मन्त्री पौडेलले भन्नुभयो,‘यसरी अघि बढ्दा बिमा नागरिकको पनि दायित्व बढ्ने र भुक्तानीमा देखिएको समस्या हट्नेछ।’ मन्त्री पौडेलले अहिले सरकारले बिमाका लागि वार्षिक सात अर्ब छुट्याउने तर खर्च महिनामै दुई अर्ब बढी आउने अवस्था रहेको बताउनुभयो।
बिमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आउने गरेको भन्दै त्यसमा सुधारको आवश्यकता रहेको बताउनुभयो। मन्त्री पौडेलले भन्नुभयो,‘स्वास्थ्य बिमाका क्षेत्रमा केही विकृति भएको र उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो आउने गरेको छ। त्यस्तो भएको पाइए कारवाही हुन्छ।’ मन्त्री पौडेलले स्वास्थ्य बिमालाई बढाएर पाँच लाख रुपियाँ पुर्याउने गरि काम भइरहेको भन्दै यसमा नागरिकको पनि सहभागिता हुने बताउनुभयो। मन्त्री पौडेलले नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भएको बताउनुभएको थियो। जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्न नहुने भन्दै जनतालाई परिवर्तनको महसुस गराउन स्वास्थ्यलाई सहज, गुणस्तरीय र निःशुल्क रुपमा पुर्याउन ध्यान दिनुपर्ने बताउनुभयो।
त्यसैगरी मन्त्री पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको भन्दै अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्ने बताउनुभयो। सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको फार्मेसीमा औषधी नराख्ने, सरकारी अस्पतालबाट दिने सेवा बिरामीलाई बाहिर रिफर गर्ने गरेको पाइए कडा कारवाही हुने बताउनुभएको थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले वर्तमान सरकारले जनतालाई उपलब्धिको महसुस गराउन नसके ०८४ सालको निर्वाचनमा अप्ठेरो पर्ने बताउनुभयो।
देशका प्रमुख दुई पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको र सरकारले जनतालाई परिवर्तनको महसुस गराउने गरी काम गर्ने प्रयत्न गरिरहेको बताउनुभयो। सरकारले दिने सेवाभन्दा जनताले चाहेको विकास बढी भएको भन्दै मन्त्री पौडेलले भन्नुभयो,‘जनताले परिवर्तनको महसुस खोजिरहेका छन्। परिवर्तनको अनुभूति सरकारले जनतालाई गराउन सकेन भने ०८४ मा हुने निर्वाचनमा अप्ठेरो पर्न सक्छ, हामीले त्यहाँ ध्यान दिन आवश्यक छ।’ नेपाली कांग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री पौडेलले पहिलेको तुलनामा अहिले प्रतिस्पर्धी बढेकाले पार्टीलाई तल्लो तहदेखि नै सङ्गठित बनाउने र नेता कार्यकर्ता जनताको चाहनालाई बुझेर अघि बढ्नुपर्ने बताउनुभयो।