नेपालमा भेटियोे नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’

Published on

अरुण डगौरा । नेपालमा नयाँ प्रजातिको चरा बैजनी कोइली(भ्वाइलेट कक्कु) भेटिएको छ । इलाम जिल्लाको सुखानी वन क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा बैजनी कोइली अभिलेख गरिएको हो । यो चरा समुद्रीसतहबाट ३०० मिटरको उचाइमा रहेको सुखानी वन क्षेत्रमा पाइएको हो ।

नेपालका चराविद् राजेन्द्र गुरुङ र उनको टोलीले चरा अवलोकनको क्रममा २५ गते पहिलो पटक बिहान ११ः२० बजेको समयमा सुखानी वन क्षेत्रमा भाले बैजनी कोइली चरा देख्नुभएको थियो । त्यसै दिन सोही ठाउँमा पटक पटक एक रुखबाट अर्को रुखमा उड्दै गरेको बेला एक घण्टा भन्दा बढी समयसम्म यस चरालाई अवलोकन गरिएको थियो । त्यसै क्रममा गुरुङको साथमा रहेको मलेसियन नागरिक एलेक्जेन्डर जोन एङ याङले आवाज पहिचान गरी चरालाई पहिल्याउनु भयो । टोलीमा रहेका सबैजनाले छेउछाउका रुखहरुमा करिब २० मिटरको दुरीबाट चरालाई अवलोकन गर्नुका साथै फोटो खिच्नुभयो, भिडियो बनाउनुभयो र प्रारम्भिक पहिचान समेत गर्नु भयो । चराविद् राजेन्द्र गुरुङले मिति २८ गते सो चराको यकिन पुष्ट्याईका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा आफूसित भएको विवरणसहित चराको तस्बिरहरु पठाउनुभएको उक्त कमिटीका संयोजक डा. तुलसी सुवेदीले जानकारी दिनुभयो । अवलोकन टोलीबाट प्राप्त विवरणहरुको अध्ययन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरुसँग पनि रायसुझाव सङ्कलन गरी प्रेस विज्ञप्ति जारी गरियो ।

चराविद्हरु राजेन्द्र गुरुङ, एलेक्जेन्डर जोन एङ याङ, रोगर रोबर्ट राजाह र अनिस तिम्सिनाले देख्नुभएको उक्त चराको अङ्ग्रेजी नाम भ्वाइलेट कक्कु र वैज्ञानिक नाम क्राइसोकोकस साइन्थोरिङ्कस हो भने यसको नेपाली नाम बैजनी कोइली राखिएको छ । कुकुलिफोर्मस वर्गको कुकुलिडा परिवारमा पर्ने यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बङ्गलादेश, ब्रुनेई, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रुपमा पाइन्छ । यसले मुख्यतया भुटान, फिलिपिन्स र सिङ्गापुरमा प्रजनन गर्दछ । विश्वमा यस चराका दुई प्रजाति क्राइसोकोकस साइन्थोरिङ्कस र क्राइसोकोकस एमिथिस्टिनस अभिलेख भएका छन् । नेपालमा अभिलेख भएको चरा क्राइसोकोकस साइन्थोरिङ्कस हो । नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थपिएको छ । अब नेपालमा उक्त प्रजाति थपेर ८९९ प्रजातिका चरा भएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...