नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै

Published on

काठमाडौँ । दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । २०७० को बाढीपछि महाकाली नदीले बहाब परिवर्तन गरेर पारी पुगेको नेपाली भूमिमा कब्जा जमाउँदै भारतले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयले बताएका छन् । २०७० भन्दा पहिले महाकाली नदी वारी रहेको र कानूनी रूपमा अहिले पनि नेपालकै नाम नक्सामा रहेको गल्फैस्थित बसपार्क महाकाली पारीको भूमिमा भारतले बाँध बाँधिरहेको स्थानीय अनिल ठगुन्नाले दाबी गर्नुभयो ।

नेपालको झन्डै ५० रोपनी भूमि नदी पारी पुगेकोमा सो भूमिमा भारतले स्थानीय नागरिक र प्रशासनको अनुरोधलाई अटेर गरेर तटबन्ध बनाइरहेको हो । विगतमा स्थानीयले अवरोध गर्दा रोकिएको काम अहिले फेरि सुरु भएको अर्का स्थानीय कृष्ण धामीले बताउनुभयो । नापी विभागको टोलीले विगतमा नापजाँच गर्दा सो भूमि नेपालकै रहेको पाइए पनि नापीको रिपोर्ट नै सार्वजनिक नगरिएको स्थानीय सुन्दरसिंह धामीले बताउनुभयो । नापी विभागको अभिलेख सार्वजनिक गरेर नेपाली भूमिमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोकिनुपर्ने उहाँको भनाइ छ । अहिले नदी सीमामा बगेको छैन, नागरिक अधिकारकर्मी कमलराज जोशीले भन्नुभयो, “२०७० सालको बाढीपछि गल्फैको महाकाली पारी पनि नेपालको भूमि छ । सो भूमिमा विगतमा नेपालको वन, भू संरक्षणलगायत कार्यालय र घर रहेकामा अहिले महाकालीले बहाब परिवर्तन गरेपछि भारतले अतिक्रमण गरिरहेको छ ।”

भारतले नेपालको भूमि छोडेर मात्रै बाँध बाँध्नुपर्ने नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टको भनाइ छ । सार्वभौमसत्ता सम्पन्न नेपालमा भारतले यसरी सीमा मिचेर बाँध बाँधिरहेकोमा आपत्ति जनाउँदै उहाँले तत्काल काम रोक्न सरकारसँग अनुरोध गर्नुभएको छ । गृह मन्त्रालयलाई आवश्यक रिपोर्टिङ गरिएको र स्थानीय स्तरमा भारतीय प्रशासनसँग काम रोक्न लिखित र मौखिक रूपमा अनुरोध गरिए पनि सुनुवाई नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । भारतलाई नेपाली प्रशासनमार्फत गरिएको अनुरोधमा बुफ्ने काम भइरहेको भन्दै अल्झाइएको पाइएको छ । काम रोक्नुको सट्टा मेसिन र जनशक्ति बढाएर काम भइरहेको छ, एक जना सुरक्षा अधिकारीले भन्नुभयो, “शनिबार पाँच वटा डोजर प्रयोग गरेर सो क्षेत्रमा काम गरिरहेको पाइएको छ ।” सरकारले कूटनीतिक रूपमा फेरि विवाद नआउने गरी यो विषय समाधान गर्नुपर्ने प्रजिअ पौडेलको भनाइ छ ।

नेपालतर्फ नदी तटीय क्षेत्रमा तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम विगतदेखि गर्दै आएको थियो । केही महिना पहिले भारतीय डोजर महाकाली तरेर खलङ्गामै आएपछि विवाद चर्किएको थियो । भारतले झन् अहिले गल्फै पारीको नेपाली भूमिमै बलमिच्याइँ गरेर बाँध बाँध्न थालेको छ ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...