म्यानमारमा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

Published on

काठमाडौँ । गत महिनाको विनाशकारी भूकम्पपछि म्यानमारमा घोषणा गरिएको युद्धविराम मङ्गलबार समाप्त हुने क्रममा छ । यद्यपि सहायता समूहहरू र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत प्रयासहरूलाई सहज बनाउन यसको विस्तारका लागि आह्वान गरेका छन् । सैन्य जुन्ताले सात दशमलव सात म्याग्निच्युडको भूकम्पपछि आफ्ना असङ्ख्य सशस्त्र विरोधीहरूमाथि आक्रमण गर्न रोक्ने घोषणा गरेको थियो । भूकम्पमा परी तीन हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । जुन्ताले सन् २०२१ को कू मार्फत सत्ता कब्जा गरी धेरै पक्षीय गृहयुद्ध सुरु गरेको थियो ।

द्वन्द्व अनुगमनकर्ताहरू र लडाइँ क्षेत्रका बासिन्दाहरूका अनुसार म्यानमारको मध्य भागमा सहायता वितरणलाई प्रोत्साहित गर्न घोषणा गरिएको २० दिने युद्धविरामको अवधिमा दुवै पक्षबाट लडाइँ जारी रहेको छ । युद्धविराम मध्यरातमा (१७३० जिएमटी) समाप्त हुँदैछ । मङ्गलबार बिहान राज्य सञ्चार माध्यमले युद्धविरामको विस्तारका बारेमा कुनै जानकारी दिएको छैन र एएफपीले जुन्ताका प्रवक्तासँग तत्काल सम्पर्क गर्न सकेको छैन । संयुक्त राष्ट्रसङ्घका अनुसार मार्च २८ को भूकम्पले ६० हजारभन्दा बढी मानिसलाई पाल शिविरहरूमा बस्न बाध्य पारेको छ र २० लाख मानिसलाई ‘सहायता र सुरक्षाको गम्भीर आवश्यकता’ मा धकेलेको छ । निरन्तर लडाइँका बावजुद मानवीय समूहहरू र क्षेत्रीय शक्तिहरूले सहायता प्रयासहरू चौथो हप्तामा प्रवेश गर्दा युद्धविरामलाई लम्ब्याउन आह्वान गरेका छन् ।

बिहीबार जुन्ता प्रमुख मिन अङ्ग ह्लाइङ्ग १० देशको आसियान ब्लकका अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग दुर्लभ पर्दापछाडिको वार्ताका लागि बैंकक प्रस्थान गर्नुभएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ ९आसियान० को अध्यक्षता गरिरहेको मलेसियाका प्रधानमन्त्री अनवरले म्यानमारको विपक्षी ‘राष्ट्रिय एकता सरकार’ सँग पनि कुरा गरेको र उक्त समूहले भूकम्पपछि त्यस्तै युद्धविरामको वाचा गरेको बताउनुभयो । बैठकपछि पत्रकारहरूलाई अनवरले भन्नुभयो, “दुवै पक्षले लडाइँको विस्तारलाई रोक्न आवश्यक सबै कुरा गर्ने सहमति जनाएका छन् ।” रासस/एएफपी

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...