आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

Published on

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो जसले आफ्नो फरकै पहिचान बनाएको छ । यस वडाले आफ्नो मातहतका सर्वसाधारण जनतालाई शनिबारको दिन समेत सेवा दिने गदर्छ । यहाँका कर्मचारीहरुले एकजुट भएर काम गर्ने र आम नागरिकलाई एकदमै छिटो र छरितो सेवा दिने निधो गरेका छन् । वडाध्यक्षदेखि लिएर सचिवसम्म बिदाको दिन पनि सेवा दिने गर्छन् । त्यसैले पनि यस वडाले आफ्नो भिन्नै पहिचान बनाएको छ । साथै जनताहरु पनि नजिकैको सरकार भएका कारण यसको काम कर्तव्य नियालिरहेका हुन्छन् । आन्तरिक स्रोतको कमी र बजेटको अभावका कारणले जनताको इच्छा आकांक्षाहरु पुरा गर्न नसकेको भीमदत्त नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष श्री रामबहादुर बोहरा(झकास) बताउँछन् । वडाको आफ्नो घोषणापत्र अनुसार के–के गर्न सकिन्छ भन्ने कुराहरुमार्फत अगाडि बढिराखेको उहाँको भनाइ छ । स्थानीय सरकार सञ्चालन गर्दा आइपरेका अवसर, चुनौती र स्थानीय सरकारको दायित्वका विषयमा केन्द्रित रहेर वडाध्यक्ष बोहरासँग एएनएनकर्मी अरुण डगौराले गरेको कुराकानीको सारः

वडामा अहिलेसम्म कस्ता–कस्ता योजनाहरु पारित भएका छन् ? शिक्षा, स्वास्थ्य र कृषिमा कस्ता योजनाहरु ल्याउनुभएको छ ?
भौतिक पूर्वाधार सम्बन्धी सडकहरु पिच हुने कुराहरु छन् । जे जति पनि विकास भए र अबको हुनेवाला विकासहरु, योजनाहरुले गति लिएकै छन् । पूर्वाधार विकासमा हामी लागिपरेका छौँ । अति विपन्न परिवारलाई समेटेर नमुना बस्तीको रुपमा उहाँहरुलाई अघि बढाउँदै छौँ । विभिन्न माध्यमबाट प्रदेश सरकारलाई गुहार्ने कि नगरलाई गुहार्ने ? त्यसैगरी सङ्घ सरकारलाई गुहार्ने कुराहरु पनि छन् । समग्रमा भन्नु पर्दा गाउँ समाजलाई शान्ति सुरक्षा प्रदान गर्ने कामहरुमा लागेका छौँ । त्यस्तै हामीसँग भएको संसाधान जस्तै वडामा भएका खेलकुद समितिलाई सक्रिय बनाउने, टोल विकास संस्थालाई सक्रिय बनाउने, आफुसँग भएका संसाधनलाई समृद्धितर्फ लैजाने गरेका छौँ । हामी कहाँ थियौँ र कहाँ पुग्यौँ ? के गर्‍यौँ ? भन्नका लागि त देखाउनु पर्छ । त्यसकारणले सङ्घ संस्थाहरुसँग राम्रो समन्व्य गरेर अगाडि बढ्ने, धार्मिक परम्परा वैदिक सनातन धर्मलाई प्राथमिकतामा राख्ने गरेका छौँ ।

नगर, सङ्घ सरकार र प्रदेशको सहयोगबाट तमाम कामहरु भएका छन् । मेरो पहिलो प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य र आफ्नो उत्पादनलाई बढी महत्त्व दिने हो । वृद्धवृद्धाको सम्मान, युवालाई रोजगारको सिर्जना गराउने, आफूसँग भएका संसाधनलाई प्रयोग गर्ने । वडालाई समृद्धिको तफै लैजाने, परम्परागत वैदिक सनातन धर्मको रक्षा अर्थात आफूले धार्मिक कार्यक्रहरु गराउने जस्ता कामहरु भइरहेका छन् ।

त्यसपछि मेरो मुख्य प्राथमिकता भनेको शिक्षा स्वास्थ्य हो । अहिलेको आधुनिक युगलाई महत्त्व दिने गरी युग समावेशी शिक्षालाई मुख्य प्राथमिकता दिने गरी र अहिले समय सान्दर्भिक शिक्षा, युग समावेशी शिक्षा र नैतिक शिक्षालाई बढी महत्त्व दिने गरी हामी परिश्रम गरिरहेका छौँ । स्वास्थ्यमा एम्बुलेन्सको व्यवस्था दिएर, जेष्ठ नागरिक, गर्भवती महिला दिदीबहिनीलाई निःशूल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ । यत्रतत्र छरिएर रहेका गौमाताका लागि आन्दोलन गरेर सामान्य गौशाला बनाएर उद्धारमा लागिपरेका छौँ । कृषिलाई अलि महत्त्व दिने र कृषिमा आत्मनिर्भर बनाउने । त्यस्तै आफ्नो उत्पादनलाई बजारीकरण गर्ने । आफ्नै हाट बजारमा बेच्ने व्यवस्थापन जस्ता कुराहरुको लागि लागिपरेको छु । कृषि पाठशाला, कृषि फार्महरुलाई महत्त्व दिने त्यसैगरी आफ्नो क्षेत्रमा किसानलाई सब्सिडीको सम्बन्धसँग समन्व्य गराउने । त्यस्तै हामीले हाटबजारको रुपमा लिएका छौँ र त्यही तरिकाले उत्पादन कमी भएको कारण उत्पादनमुखी हुन सकिरहेको अवस्था छैन तर उत्पादनमा जोड दिने जस्ता कुराहरु रहेका छन् ।

समाजमा व्याप्त सामाजिक समस्या र विकृतिहरुलार्ई रोक्न कस्ता कार्यक्रमहरु ल्याउनुभएको छ ?
जनचेतनामुलक कार्यक्रमहरु लागु गर्ने, टोल विकास संस्थाहरुलाई सक्रिय बनाउने, अहिले बढ्दो लागुऔषधलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर सुरक्षाकर्मीहरु समन्व्य गर्ने भनेर लागिपरेका छौँ । यो समस्या चाँहि खुल्ला सिमाना भएको कारणले भइरहेको हो । अति विपन्न परिवारले पनि सेवा सुविधासँग जोडियोस् भनेर डटेका छौँ ।

महिला हिंसा विरुद्ध र महिला सशक्तिकरण सम्बन्धी कस्ता कार्यक्रमहरु ल्यानुभएको छ ? समाजमा त्यसको कस्तो असर परेको छ ?
हामीले करिब २१० जना महिला दिदीबहिनीहरुको क्षमता विकासका लागि तालिम दिएका थियौँ । यो पूर्ण रुपमा कार्यान्व्यनमा आएको त छैन । तर पनि एक किसिमको आ के हो भन्दा महिला दिदीबहिनीको हकहितका लागि, उहाँहरुलाई दिने सशक्तिकरणमा विभिन्न सङ्घ संस्थाहरुसँग सम्पर्कमा रही समितिहरु गठन गर्ने, समितिमार्फत विपद्सँग कसरी जुध्ने ? त्यसैगरी आफ्नो क्षेत्रलाई विकसित कसरी बनाउने ? सरसफाईदेखि लिएर विभिन्न तालिमहरु गराउने जस्तै ब्युटी पार्लर, फुल बनाउने, माला बनाउने, पोते तिलरी बनाउने, साथै आत्मनिर्भर बनाउने कुराहरु गरियो । आउँदै गर्दा २१० जनालाई विभिन्न सङ्घसंस्थाहरुसँग समन्व्य गरेर तालिम दिइयो । २१० जनाले लिएको तालिम वाफत कार्यान्वयनमा ल्याउन सकिने कुरा त भएन । किनकी तीन महिना तालिम दियौँ पछि गएर के गर्न सकिन्छ गरौँ न त भन्दा कसैले पनि व्यावसायीक रुपमा काम गरेको देखिएन । सोनापुर सशक्तिकरणका दिदीबहिनीहरुले कृषि पाठशालादेखि लिएर फिना बुन्ने कामहरु गर्नु भयो । साथै रामानुस्काका दिदीबहिनीहरुले पनि हामीसँग सम्पर्कमा रहेर फिना आदि इत्यादि बनाउने कामहरु गर्नु भयो ।

पहिले र अहिलेको तुलनामा काम गर्दा जनतामा आफूप्रति कस्तो जनभावना पाउनुभएको छ ?
मैले एकदमै समारात्मक भावना पाएको छु । काम गर्दै गर्दा सबैको चित्त बुझिन्छ भन्ने त होइन । तर हामीले पनि यो दुई ढाई वर्षमा केहि कुराहरु सिक्दै छौँ, बुझिरहेका छौँ । जनताको हकहितका लागि लडेर जनतालाई कसरी एक किसिमको सरकार भएको आभाष गराउन सकिन्छ भन्नेमा हामी लागेका छौँ । यसको लागि हामी प्रक्रियामा छौँ । पाँच वर्षमा हामी कहाँ थियौँ र आज कहाँ पुग्यौँ भन्ने कुरा त यो कार्यकालको अन्तिममा २०८४ सालमा आउँछ ।

आफ्नो वडालाई कस्तो वडाको रुपमा देख्न चाहनुभएको छ ? त्यसका लागि कस्ता कामहरुको थालनी गर्नुभएको छ ?
मैले मेरो वडालाई छुट्टै किसिमको नमुना वडा बनाउने प्रयत्नमा छु । यसको जगको फङ्सनसम्म पुगेको छु । अझै आगामी दिनमा यसलाई कहाँबाट कहाँ पुर्‍यायौँ भन्नका लागि समग्रमा सबै जनताहरु, वृद्धवृद्धा बुवाहरु, एकल महिला दिदीबहिनी, दलित, जनजाति, आदिवासी सबैलाई जोडेर सबैको हकहित हुनेगरी एक किसिमको पहिचान दिनेगरी १३ नम्बर वडा चाँहि वास्तवमा विशेष वडा रहेछ है । यो चिज रैछ भन्ने बनाउनका लागि लागिपरेको छु । आगामी दिनमा यस्ता कुराहरु महत्त्वपूर्ण तरिकाले जोडिने छ । यति छिट्टै सबै कुराहरु आभाष हुने कुरा हुँदैन । वडामा रहेका चार जना सदस्यहरुले आ–आफ्नो जिम्मेवारी बाँडफाँड गरेका छौँ । महिलासम्बन्धीका कुराहरु महिलाले हेर्ने, बजारीकरणमा अन्य सदस्यहरुले हेर्ने, यसरी आ–आफ्ना तरिकाले काम कर्तव्यहरु लिएका छौँ । हरेक वडामा रहेको फरक फरक टिम छ । त्यो टिम आउँदा फरक फरक पार्टीबाट आएको भए पनि अध्यक्षदेखि लिएर सचिव र सदस्यहरु हामी शनिवारको दिन पनि करिब करिब सेवा दिने गरेका छौँ । सबै खटिरहेका नै हुन्छौँ । सामाजिक रुपान्तरण हुने गरी, समाजलाई एकतृत हुने गरी, अहिलेको आधुनिक युगलाई महत्त्व दिने गरी युग समावेशी शिक्षालाई मुख्य प्राथमिकता दिने गरी र अहिले समय सान्दर्भिक शिक्षा, युग समावेशी शिक्षा र नैतिक शिक्षालाई बढी महत्त्व दिने गरी हामी परिश्रम गरिरहेका छौँ । बुद्धिजिवी, समाजसेवी, भद्रभलाद्मी र शिक्षकहरुसँग सम्बन्धित छलफल गरेर यहाँ रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा लागिपरेका छौँ । समग्रमा पिछडिएको वर्गका लागि के गर्न सकिन्छ भनेर लागिपरेका छौँ । अहिलेसम्म त एक किसिमको सिकाइ भइरहेको छ । आफ्नो कार्यकालको पाँच वर्षभित्र केहि न केहि राम्रो काम गर्छौँ ।

अहिले बौद्धिक पलायन भइरहेको अवस्थामा युवाहरुलाई आफ्नै देशमा केहि गर्ने वातावरण बनाउन के–कस्ता योजनाहरु ल्याउनुभएको छ ?
म आएपछि कृषिमा महत्त्व दिनु पर्छ भनेर झण्डै ढाई/तिन विघा जमिन लिएर कृषि फार्म खोलौँ भनेर साथीहरुलाई जोड दिएँ । तर विडम्बना के भयो मेरो त्यो योजनासँग जोड्ने मान्छे भेटेन । किनभने हामी सीमा नजिकको बासिन्दा भएको हुनाले हामीलाई समस्या भैराखेको छ । वडासँग बेरोजगारीलाई रोजगारीमा परिणत गर्नका लागि र नमुना दिनका लागि त्यस्तो किसिमको व्यवस्था नभए पनि नगरमा त्यस्तो किसिमको निर्णय हुनु पर्ने र सङ्घ सरकारले त्यस्तो किसिमको व्यवस्था ल्यायो ल्याउन जरुरी छ । यो स्थानीय तह हो । समस्यासँग पनि जुध्नु पर्ने । वाहवाहीसँग पनि जुध्नु पर्ने र जनतासँग पनि छुट्टै भेटिनु पर्ने हुन्छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अफिसमै हुनु पर्ने हुन्छ । एकदमै नजिक रहेको स्थानीय सरकारको वडास्तरका प्रतिनिधिहरु छन् । उहाँहरु प्रत्यक्षरुपमा जनतासँग जोडिनु भएको छ ।

तर पनि रोजगारीका लागि हामीले के गर्‍यौँ भने दुइटा इन्टरलक ब्लक बनाउने कम्पनी खोलेर काम गर्ने विचार गर्‍यौँ । रोजगारीको सिलसिला बढाउ भन्दा गाउँसमाजमा लौ न त हामी पनि काम गरौँ रोजगार बनौँ भन्ने भएन । अब यो जुन वैदेशिक पलायन हुने कुरा जो छ, यसमा भन्नु पर्दा, एउटाको छोरो जापान छ, अर्काको अमेरिका छ । यो रोक्न सकिने कुरा त भएन । देखासिखीले गर्दा यो चलिरहेको छ । यदि हामी आत्मनिर्भर हुने वडाको रुपमा अगाडि आयौँ भने जबसम्म जनताले हामी यस्तो किसिमको रोजगारी गर्छौँ भन्ने व्यवस्था नहुञ्जेलसम्म यो कुरा सम्भव होला जस्तो मलाई लाग्दैन ।

हामीले अहिले भारतीय बजार नजिक भएको कारणले गर्दा गुणस्तरीय सामान प्रयोग गरिरहेका छौँ । खुर्सानी नखाए पनि हामी एक वर्ष बाँच्न सक्छौँ । आफ्नै बारीमा फलाएर खाँदा त्यो अर्गानिक पनि हुन्छ र अर्काले फलाएको खाने बाध्यता पनि तरिन्छ । आफ्नो उत्पादनलाई महत्त्व दिने भन्ने मेरो मान्यता पनि हो । तर हामीले जति गर्छौँ त्यो कुरा ठिक छ । रोजगारी ल्याउने कुरा पनि ठिक छ । तर हामीले ल्याउन सकेनौँ भने त्यो फितलो हुन्छ । कमसेकम हामी यही देशमा बस्छौँ भने राष्ट्रप्रति र राष्ट्रभक्तिको माया, यो माटोप्रतिको माया भने हुनुपर्छ । स्थानीयस्तरमा हुनुपर्ने आत्मनिर्भर हुने क्रान्ति भएको अवस्था छैन । अहिलेको विदेश जानुपर्ने जुन चिन्तामुलक अवस्था छ त्यो व्यक्ति चाँहि नेपालमै बसेर केहि गरौँ भन्ने किसिमको व्यवस्था र नीति नियम सङ्घ सरकारले ल्याउने पर्ने हुन्छ । वडाको सामान्य कुराले धेरै कुरा त हुँदैन ।योग्यताअनुसारको काम दिने अवस्था वडामा त रहँदैन । हामी प्रयत्न चाँहि के गर्छौँ भने आत्मनिर्भर बनौँ । आफ्नो चिजलाई महत्त्व दिउँ । आफ्नै क्षेत्रलाई बढि प्राथमिकतामा राखौँ । र जोसँग खेतबारी छ उहाँहरुले तरकारी उत्पादन गरौँ । व्यवसाय आदि नगरे पनि आफुलाई खानको निम्ति पनि तरकारी बनाऔँ । आफै मेहेनत गरेर गरौँ भन्ने किसिमको वातावरण बनाउँदै छौँ ।

अब यो रोजगारीको पाटो छ । मानिस विदेश जाने क्रम चर्किराखेको छ । अहिलेको शिक्षाको अवस्था अस्तव्यस्त अवस्थामा छ यो राज्यमा । राज्यले दिएको सब्सिडीअनुसार चल्ने कुराहरुलाई पनि छोडेर जुन किन्नु पर्ने अवस्था छ । त्यस्तै जनताले नबुझेर पनि हुन सक्छ । हामीले बुझाउन नसकेको पनि हुन सक्छ । र आगामी दिनमा यही कुरामा प्रयत्न गर्ने छौँ । तर साँच्चै नै हामी प्रति देशभक्त र राष्ट्रप्रतिको माया र माटोको सौगन्ध लिएर यही देशमा केहि गर्छौँ भन्ने युवा त्यस्तो जन्मिनु भयो र हामी केहि गरौँ भन्यो भने उहाँहरुलाई सहयोग गर्ने छौँ । यो त हाम्रो परिकल्पना नै हो । हामी यो गर्छौँ भनेर आएका नै हौँ । आगामी दिनमा अवश्य पनि जोड्ने छौँ । कतिपय विदेश पलायन हुनाको मुख्य कारण भनेको अहिलेको सिस्टम हो । तपाईं यहाँ सामान्य रोजगारी गर्नुहुन्छ । रोजगारी गर्ने शिलशिलामा आयोग पास गर्नका लागि काठमाडौँ बस्नुहुन्छ । त्यसको खर्च विवरण आदि इत्यादि हुञ्जेलसम्म अर्को साथी विदेश पुगिसकेको हुन्छ । १.५/२ लाख रुपियाँ मासिक कमाउँछ । तर मैले त्यो नै राम्रो भन्न खोजेको चाँहि होइन । वैदेशिक रोजगारीबाट फर्किएका नेपालमै केहि गरौँ भन्ने हुटहुटी भएका युवाहरु एकजुट हुन जरुरी छ । त्यसकारणले हामीले रोजगारी बढाउन सकिन्छ ।

हामीले गौ व्यवस्थापन पनि गरेका छौँ । त्यहाँबाट प्राप्त मललाई कसरी उपयोग गर्न सकिन्छ ? महिला दिदीबहिनीलाई रोजगारीको शिलशिला कसरी जोड्न सकिन्छ ? हामीसँग खुलेका दुइटा कम्पनी छन्; इन्टरलक ब्लक उद्योगहरुसँग मिलेर रोजगारी गरौँ न भन्ने किसिमको पाटोमा छौँ । सामान्य मानिसले त रोजगारी पाइराखेकै छ । २/२, ३/३ जनाले रोजगारी पाएकै छ । त्यतिले मात्रै रोजगारी पाउनु हुँदैन । यहाँ कलकारखाना खोलौँ न त भनेर दुना टपरी बनाउनका लागि यहीँका विद्यार्थीहरुलाई पनि जोड्ने, युग समावेशी शिक्षा दिने, हप्तामा एक दिन शुक्रबार अतिरिक्त क्रियाकलापसहितको प्रविधिसँग सम्बन्धित आधुनिकीकरण कसरी गर्न सकिन्छ ? यन्त्रसँग कसरी जोड्न सकिन्छ ? जस्ता कुराहरुमा प्रयत्न गरिरहेका छौँ । जुन परनिर्भरताको समय चलिराखेको छ त्यो मैले एकजना वडाध्यक्षले चाहेर समारात्मक रुपले चरम बिन्दुमा पुर्‍याउन सक्छु त भन्न सक्दिनँ । एक किसिमको त्यसमा प्रयत्न गरिरहने छु । मेरो अध्ययन अनुसन्धान त्यसमा भैराखेको छ । यदि समय सन्दर्भ यस्तै नै आउँछ भने सुखमा नाच्न र दुःखमा रुन हामी ग्राउन्ड लेबलका जनतासँग जुडि नै राखेका छौँ ।

वडाको मुख्य समस्या के रहेको छ ? त्यसलाई कसरी समाधान गर्दै हुनुहुन्छ ?
मुख्य समस्या भनेको बेरोजगारी हो । अहिलेको युग समावेशी शिक्षा हरेक जनतालाई दिन सक्यौँ भने राम्रो हुन्छ । जुन शिक्षा उच्च आर्थिक अवस्था भएको व्यक्तिले लिन्छ त्यही शिक्षा निम्न आर्थिक अवस्था भएको व्यक्तिले पायो भने शिक्षाको माध्यमबाट एक किसिमको प्रेरणा जाग्न सक्छ । स्थानीय पाठ्यक्रमलाई महत्त्व दिँदै अहिलेको राष्ट्रभक्ति साँच्चिकै पढ्न सक्यौँ । अगाडि बढ्न सक्यौँ भने त एकदमै राम्रो नै हो । दोस्रो कुरा खुला सिमानाका कारणले लागु औषध पनि चुनौतीको रुपमा छ । यसको बारेमा अभिभावक ज्यूहरुलाई सम्झाउने जरुरी देखिइराखेको छ । किनकी अभिभावकलाई पनि छोराछोरीलाई नियन्त्रण गर्न गाह्रो छ ।

सामुदायीक विद्यालयमा पढ्ने विद्यार्थीले राम्रोसँग एसइइ परीक्षा दिन सक्दैन । समावेशी शिक्षासँग सान्दर्भिक हुँदैन । हामीले बोर्ड परीक्षा दियौँ भने अहिलेको गुणस्तरीय र युग समावेश शिक्षा पर्याप्त मात्रामा दिन सक्ने अवस्था हुँदैन । त्यहाँ चाँहि जुन पेपर आउँछ त्यो युग सुहाउँदो आउँछ । अनि विद्यार्थीले त्यो परीक्षा दिन सक्दैनन् । गरिब परिवारहरुको त्यो एक किसिमको कमजोरी हुन्छ । निम्न स्थिति भएका जनताहरुको पहुँच भन्दा बाहिर हुन्छ । त्यसकारणले यो चाँहि मलाई अलिअलि चुनौतीको विषय लागेको छ । किनकी त्यही शिक्षा सबैले प्राप्त गर्न सकेका छैनन् । पुँजी भएकावाला आफ्नो तरिकाले संस्थागत विद्यालयमा पढाउने, सहरमा पढाउने, भारतमा पढाउने कि विदेशमा पढाउने भन्ने छ । तर गरिबका छोराछोरीलाई भने युग सुहाउँदो समय सान्दर्भिक शिक्षा कसरी दिने भन्ने चुनौती छ । जबसम्म मेरो वडा शिक्षित हुँदैन तबसम्म मलाई लाग्छ विकास हुँदैन । छोराछोरी मात्र पढाउने वातावरण बनायौँ नैतिक शिक्षा दिएनौँ भने त भालिको दिनमा छोराछोरीले आमाबुवा बस्ने वातावरण बनाउन सकेन भने मलाई लाग्छ वृद्ध आमाबुवा भोलिको दिनमा वृद्धाश्रम जाने स्थिति आउँला । यही छ हाम्रो प्रमुख समस्या । बाँकी चिज त बाटोघाटो, पूर्वाधार विकासका कुराहरु त क्रमशः भैरहने कुराहरु हुन् ।

व्यक्तिगत काम कसैका नहुन पनि सक्छन् । हामीले घरघरमा जान सकिने हुँदैन । हामी भन्दा माथि पाँच जना हुनुहुन्छ; फेरी वडास्तर भन्दा माथि पार्टीतर्फ उपमेयर, मेयर, प्रदेश सांसद्, सङ्घीय सांसद् र समानुपातिक सांसद् । उहाँहरुसँग कोही पनि टक्राउँदैन तर हामी स्थानीय जनप्रतिनिधिहरुसँग सिधै गएर बिहान बेलुका भेट हुनेभएकोले सबैको इच्छा आकांक्षा पुरा गर्न नसकिने हुन्छ । तर पनि हामी प्रयासमा नै छौँ । हामी सबै लोकतन्त्रको बगैँचाका फूल हौँ । सकारात्मक रुपमा समाजलाई सुशासन र स्वास्थ्य शिक्षा कसरी दिन सकिन्छ त्यसका लागि प्रयत्न गर्दै छौँ । समग्र वडाको टिम लागिपरेको छ । अनि हाम्रो सचिव ज्यू पनि एकदमै राम्रो हुनुहुन्छ । उहाँले त शनिबारको दिन पनि सेवा दिनु हुन्छ ।

विद्यार्थीलाई कसरी बढीभन्दा बढी अहिलेको युग सुहाउँदो शिक्षा र स्वास्थ्यलाई बडो प्राथमिकतामा राख्ने मेरो प्रमुख लक्ष्य हो । तर एकदमै विकट भनेको के हो भन्दा भीमदत्त नगरपालिकाको दक्षिणी भेगको तटीय क्षेत्रमा रहेको यो १३ नम्बर वडालाई बन्दै गरेको चारलेन पुलले चुनौती दिएको छ । यसको डिजाइनमा समस्या आएको छ । विगतमा प्रत्येक खोला भएको ठाउँ–ठाउँमा जनप्रतिनिधिले बाटोघाटो बनाउने र ढल निकासी एउटै खोलामा मिलाउँदा माथिबाट पानी जिरो लेबलमा पुग्ने भएको हुनाले डुबानको जोखिम अलि बढी हुन्छ कि भन्ने सङ्का लागेको छ । यसलाई चाँहि महत्त्वपूर्ण तरिकाले यसको डिजाइन परिवर्तन गरेर माननीय गृहमन्त्री रमेश लेखकसँग पटक–पटक वार्ता र कुरा पनि भैरहेको छ । उहाँ लागिपर्नु भएको छ । र हामीसँग पर्यटन प्रवर्द्धनका लागि तमाम संसाधन मध्ये विभिन्न क्षेत्रहरु छन् । फोरलाइन आयोजना र भाइरल रोड यो गौरवको आयोजना हो ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?
शासक र सेवकमा के फरक हुन्छ ? शासनसत्ता कसरी चल्छ ? त्यसलाई कसरी सञ्चालन गर्नुपर्छ ? जनताको माया जनतालाई कसरी फर्काउनु पर्छ ? जनताले लगाएका गुणहरुको मूल्य कसरी तिर्नु पर्छ ? जनताका आधारभूत मागहरु के हुन ? त्यसलाई सम्बोधन कसरी गर्न सकिन्छ ? जस्ता यावत कुराहरुमा हामी एक किसिमको सिकाइमा थियौँ । धेरै राजनीति गरेका विज्ञ भएका पनि होइनौँ । विपन्न परिवारबाट आएको हाम्रो टिम हो । पाँच वर्षभित्र हामीले ठिक काम गरेछौँ भन्ने आभाष हुनेगरी हामी काम गरिरहेका छौँ र गर्ने पनि छौँ । जनताले हामी माथि गरेको माया र विश्वास टुट्न नदिने हाम्रो धारणा हो । कहिले पनि परोपकारी काम गर्ने, वैदिक सनातन धर्म रक्षार्थ र यस क्षेत्रको पहिचानका लागि र राष्ट्रप्रतिको माया, माटोप्रतिको माया र राष्ट्रभक्ति र आत्मनिर्भर बनाउने कुराहरुमा मसहित मेरो वडाको समग्र टिम लागिपरेको छ । हामी जनप्रतिनिधिले चाहेर मात्र सबै कुरा हुँदैन । त्यसैकारणले समाजसेवी, बुद्धिजिवी, भद्रभलाद्मीले बजेट बन्ने बेलामा यो यो तरिकाले बनाउनुस् भनेर सबैको साँझेदारीमा सबैको सोचमा सकारात्मक पक्षलाई मध्यनजर गर्छौँ । यदि हामी क्रमबद्ध तरिकाले अगाडि बढ्यौँ भने समग्र वडाको विकास हुने हो । नमुना वडा बन्न सक्छ । त्यसकारणले समाजसेवी, बुद्धिजिवी, भद्रभलाद्मी तथा वडाबासीहरुमा यो नयाँ वर्षको फेरी पनि शुभकामना छ । मेरो भन्दा पनि हाम्रो हो भन्ने कुरालाई प्राथमिकता दिउँ । जुन दिन मेरो भन्दा पनि हाम्रो हो भन्न सिक्यौँ, हाम्रो वडा भन्न सिक्यौँ, मेरो माग भन्दा पनि हाम्रो माग हो भनेर सम्बोधन गर्न सक्यौँ त्यो दिनदेखि विकास र परिवर्तन अवश्य हुन्छ ।

वास्तवमा जेष्ठ नागरिक, बुवाआमाहरुको सम्मान, युवाहरु परिचालन, महिला दिदीबहिनीको हकहितका लागि र अहिलेको समय सान्दर्भिक र अतिरिक्त क्रियाकलापसहितको शिक्षा, गुणस्तरीय र नैतिक शिक्षा लिन दिन सक्यौँ र यस क्षेत्रका तमाम स्रोतसाधनहरुलाई जति प्रयोग गर्न सक्याैँ त्यति नै फाइदा हुन्छ । यसका लागि मैले सम्पूर्ण जनप्रतिनिधि ज्यूहरुलाई पनि अनुरोध गरेँ । हामीभन्दा माथिल्लो पदका साथीहरुले पनि के बुझिदिनु पर्‍यो भने वडालाई अहिलेको समय सान्दर्भिक कसरी बनाउन सकिन्छ त ? मैले मेरै वडा बनाउने भन्ने हुँदैन । नगर प्रमुख, उपप्रमुख, सङ्घीय सांसद्, प्रदेश सांसद्को पनि भूमिका रहनु पर्छ । प्रदेशको दृष्टिकोणले समग्रमा सबै वडामा ध्यान केन्द्रित हुनुपर्छ । बजेट व्यक्तिमुखी हुनु हुँदैन । वडामुखी हुनुपर्छ । साथै काम र कर्तव्य पनि निष्ठावान हुनुपर्छ । सेवकले गर्ने काम र शासकले गर्ने काममा केहि न केहि भन्नता ल्याउनुपर्छ भन्ने उद्देश्य राखेको छु । हामी कमसेकम जनतालाई आभाष हुनेगरी काम गर्ने छौँ । सुझाव र सल्लाहको अपेक्षा पनि राख्दछौँ । हामी धेरै कुरा गर्न सक्छौँ भन्दा पनि हामीबाट केहि हुन सक्छ । जनताले पाँच वर्षसम्म हामीलाई दिएको जुन जिम्मेवारी छ त्यसलाई इमानदारी साथ निम्त्याउने छौँ ।
जय श्रीराम !

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...