मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबिच भेट

Published on

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग ९एसडिसी० का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा मुख्यमन्त्री सिंह र नियोगका डेपुटी चिफ अफ मिसन मेयरबिच प्रदेश सरकारसँगको सहयोग तथा समन्वयमा एसडिसीले मधेश प्रदेशमा सञ्चालन गरिरहेका विभिन्न योजनाका प्रगति, चुनौती र समाधानका उपायबारे छलफल भएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिनुभयो । भेटमा मुख्यमन्त्री सिंहले नेपालको विकास प्रयासमा स्विस सरकारको लामो तथा निरन्तर सहयोगको सराहना गर्दै छोटो समयको सङ्घीय शासनपद्धति र संरचना व्यवस्थित तथा विस्तार नहुँदा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले सङ्घीय कानुन अभाव, कार्यविधि तथा निर्देशिकालाई अन्तिम रूप दिन झन्झटिलो प्रक्रिया र दक्ष जनशक्तिको अपर्याप्त उपलब्धता आदिले योजना कार्यान्वयनमा समस्या हुने गरे पनि विकास साझेदार संस्थामार्फत आउने बजेट निर्धारित समयभित्र खर्च हुने बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सीपयुक्त बनाउन मधेस विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा दिने तयारी भइरहेको र वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट्याउनुभयो । भेटमा नियोगले आगामी दिनमा गर्ने कार्यका बारेमा कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा डेपुटी चिफ अफ मिसन मेयरले सहमति जनाउनुभयो । उहाँले सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा एसडिसीका प्रयासबारे जानकारी गराउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन तथा वैदेशिक रोजगारबाट फर्केकाको श्रम, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने विषयमा नियोगका परियोजनाका अनुभव साझा गर्नुभएको थियोे ।

नियोगका डेपुटी चिफ अफ मिसन मेयरले स्विस सरकार नेपालमा सञ्चालित परियोजनाको मूल्याङ्कन तथा आगामी चार वर्षका लागि नयाँ योजना तर्जुमा गर्ने तयारीमा रहेको जानकारी दिँदै पूर्वाधार तथा मानव संसाधन विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा रोजगारी आदिका क्षेत्रमा प्रदेश सरकारसँग गर्न सकिने कामका विषयमा समेत परामर्श गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । उहाँले प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै थप विस्तृत एवम् फराकिलो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...