भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन्।
भ्रमणको उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी र औपचारिक निमन्त्रणासमेत रहेको बताइएको छ। मिश्रीले आजै प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आजै साँझ सोल्टी होटेलमा हुने नेपाल–भारत सचिवस्तरीय बैठकमा पनि उनी सहभागी हुनेछन्। बैठकमा कनेक्टिभिटी, विकास, सहयोग, र पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्नेछन्। उनी सोमबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम छ।

