काठमाडौं । दाङस्थित घोराही उपमहानगरपालिका –१३ का हर्क चौधरीले परम्परागत शैलीमा घरमा लोकल चल्ला पाल्दै आउनुभएकोथियो । गाउँको एकजना दाजुले लोकल भालेलाई बधिया बनाएपछि मासु खानको लागि स्वादिष्ट हुने बताएपछि उहाँले घरमा भएका दुर्इटा भालेलाई बधिया बनाउनुभयो । बधिया भाले बनाएको ६ महिनापछि उक्त बधिया भालेको मासु खाँदा फरक स्वाद भएपछि उहाँले थप अरु भालेलाई बधिया बनाएको बताउनुभयो ।
‘दाङमा थारु समुदायमा पहिलेदेखि लोकल भालेलाई बधिया भाले बनाउने चलन रहेछ, उहाँले भन्नुभयोे “आफूले पनि घरमा खानका लागि २–४ वटा लोकल भालेलाई बधिया भाले बनाउँथे तर, त्यसबेला बधिया भालेको बजार थिएन, सायद प्रचारप्रसार नभएरपनि होला ।” पछि आफूले फेसवुकमार्फत बधिया भालेको प्रचारप्रसार गरेपछि विस्तारै बििधया भालेको माग हुन थालेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “त्यसपछि मैले व्यावसायिक रुपमा २०७३ बाट बधिया भाले पाल्न थाले । अहिले एउटा बधिया भाले तीन हजार रुपियाँमा बेच्दै आएको छ ।” विगत ८ वर्षदेखि उहाँ यही पेशामा लागिरहनुभएका हर्कले भन्नुभयो, “घरको अन्य काम पनि गर्न मिल्ने र अन्य व्यवसायभन्दा सजिलो र राम्रो आम्दानी हुने भएकाले यो व्यवसायीमा लागेको हुँ ।”
उहाँ अहिले बर्षमा ४०० भन्दा बढी बधिया भाले बनाउने गरेको बताउनुभयो । अहिलेको लत सकियो, अब अर्को लतको लागि तयारी गर्दैछु, उहाँले भन्नुभयो । राम्रो स्याहार गरे वर्षमा ८ देखि १० लाखसम्म आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । लोकल भालेभन्दा अझ मिठो र फरक स्वादिलो हुने हुनाले धेरैले बधिया भाले मन पराउने गरेको हर्कको भनाइ छ ।
“कोहीले फार्ममै किन्न आउनुहुन्छ, कोही फोन गरेर मगाएपछि हामीले घरसम्म डेलिभरी गरेर पनि छोडिदिन्छौ, जिल्लामा अहिले धेरैले बधिया भाले बनाएकाले यता त्यति बिक्रि हुदैन । आफुले बधिया भाले बनाएर काठमाडौं, पोखरा र बुटवलसम्म पठाउँछु ।” यस्तै, देउखुरीको लमही –६, देउपुरमा रहेको बुह्रान बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कमल जंगसिंह ठकुरीले बर्षेनी एक हजार बधिया भाले उत्पादन गरी काठमाडौं, पोखरा, चितवनजस्ता शहरमा आपूर्ति गर्दै आउनुभएको छ ।
६ वर्षअघि फर्मको स्थापना गरेर ३० कठ्ठा क्षेत्रफलमा बधिया भाले पाल्दै आउनुभएको छ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रहेका ठकुरी प्रारम्भमा परम्परागत कृषि प्रणाली परिवर्तन गर्न चुनौती भए पनि निरन्तर प्रयास, लगानी र आधुनिक सोचले फर्मले प्रदेशमै नमुना रूप लिएको उहाँले बताउनुभयो । कृषिलाई व्यावसायिक रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने ठकुरीको विश्वास छ ।
यस्तै घोराही उपमहानगरपालिकाका –६ लख्वारका निमबहदुर चौधरी पनि विगत ७ बर्षदेखि बधिया भाले पाल्दै आउनुभएको छ । उहाँले बधिया भालेसँगै लोकल चल्ला पनि पाल्दै आएको बताउनुभयो । बधिया भालेबाट राम्रो आम्दानी हुने भएकाले विगत ७ बर्षदेखि बििधया भाले पाल्दैआएको छु, उहाँले भन्नुभयो, लोकल भोलेलाई बधिया बनाउँदा ६ महिनामा एउटा भाले तीन हजारमा विक्री हुन्छ, तर लोकल भाले बेच्दा जम्मा एक हजार पाँचसय आउछ ।
बधिया बनाउदा फाइदा हुने भएकाले आफुले बदिया भाले बनाउदै आएकोे उहाँले बताउनुभयो । व्यावसायिक रुपमा बधिया भाले बनाएर पाल्दै आएका दाङमा धेरै रहेको पशु प्राविधिक भेटनरी अस्पताल दाङ शाखाका अधिकृत भरत देवकोटाले बताउनुभयो ।
दाङमा धेरै पहिलादेखि लोकल भालेलाई बधिया बनाएर खाने चलन थियो, पछि यसलाई व्यावसायिक रुपमा लगिएको छ, उहाँलेभन्नुभयो “हामी कहाँ पनि धेरै किसानहरुले बधिया भाले बनाइदिनुपर्यो भनेर बोलाउनुहुन्छ, हामी घरमै गएर बधिया भाले बनाइदिन्छौ ।”
एउटा बधिया भाले बनाएको तीनसय रुपियाँ लिनेगरेका उहाँले बताउनुभयो । गाउँघरमा सिकेकाहरुले एक सयदेखि दुर्इ सयसम्म लिनेगरेका बताउनुभयो । गोरखापत्र

